मधेश सम्वाद यात्रा टोलीद्वारा सप्तरीमा युवा-वुद्धिजिवीहरुसँग सम्वाद

राजविराज, १७ कार्तिक । तराई मधेश राष्ट्रिय परिषद् टिएमएनसीले सञ्चालन गरेको मधेश सम्वाद यात्रा टोलीद्वारा सोमवार सप्तरीको राजविराजमा युवा एवम् वुद्धिजिवीहरुसँग विविध विषयमा अन्तरक्रिया गरेको छ ।

‘न्याय, स्वाधीनता और आत्मसम्मान, सशक्त मधेश निमार्णके लिए हमारा अभियान’ मूल नाराका साथ जिल्ला समन्वय समितिको सभाकक्षमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । मधेश सम्वाद कार्यक्रमममा सहभागीहरुले मधेश आन्दोलन र त्यसपछिका उपलब्धी, संविधानमा रहेका त्रुटी, मधेशको शिक्षा, स्वास्थ्य, यातायात, स्थानीय तहको कामकार्वाही, अनियमितता, दलित समुदायमाथिको चरम बेथिति, नेतृत्ववर्गको कमीकमजोरीसहितका विषयमा धारणा एवम् जिज्ञासा राखेका थिए । मधेश आन्दोलन पश्चात देशमा संघीयता कार्यान्वयनमा आए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको भन्दै सहभागीहरुले आक्रोश समेत व्यक्त गरे ।

मधेशको समाजिक, राजनितिक अभियान सहित मधेश आन्दोनलहरुले अझंै पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै ठोस योजनाका साथ तराई मधेश राष्ट्रिय परिषद्का सचिवालय सदस्य काशिन्द्र यादवले बताए । कार्यक्रममा तराई मधेश राष्ट्रिय परिषद टिएमएनसीको स्थापना, टिएमएनसीको दृष्टि र अवधारणा, मूल लक्ष्य, रणनीति, बिशिष्ट उद्देश्य, संस्थाको संरचना समेतको बारेमा टिएमएनसीका संयोजक अधिवक्ता विकास कुमार ठाकुरले जानकारी दिए ।

मधेश ८ वटा जिल्लाको मात्र नभई २२ जिल्लाका रहेको भन्दै उनले निर्दिष्ट लक्ष्यप्राप्तिको यात्रामा आफुहरु अगाडि बढेकोले उक्त कार्यमा सबै पक्षलाई सहयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा टिएमएनसीका आभाश गुरु, रामसुफल यादव, अशोक यादव, गौतम शर्मा लगायतको सहभागिता रहेको थियो । शैलेन्द्र यादवको संयोजकत्वमा टिएनएमसीको सप्तरी जिल्ला समिति समेत गठन गरिएको जनाईएको छ ।

प्राप्त जानकारी अनुसार कार्तिक १९ गते सर्लाही, २१ गते रौतहट, २३ गते बारा र २५ गते पर्सा, २७ गते महोतरी र २८ गते धनुषा पुगेर पहिलो चरणको सम्वाद यात्रा कार्यक्रम आयोजना गरिने तय भएको छ । यस अघि कार्तिक १५ गते सिरहाको गोलबजारमा भने उक्त कार्यक्रम सम्पन्न भईसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस