कम्युनिष्ट र रोयलिष्ट संघीयता विरोधी कित्तामाः उपेन्द्र

राजविराज, २८ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र विरुद्ध कम्युनिष्ट र रोयलिष्ट एउटै कित्तामा उभिएर जनताको अधिकारलाई समाप्त पार्ने षडयन्त्रमा लागेको बताएका छन् ।

सप्तरीको राजविराजमा शुक्रवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफुलाई कम्युनिष्ट भनाउने नेताहरुमा कम्युनिष्ट चरित्र समाप्त भईसकेको बताउँदै उनले भने ‘जनताको कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीको रुपमा रहेको संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्रमा कम्युनिष्ट र रोयलिष्ट एउटै प्यानलमा आएको छ, उनीहरुको एउटै मुद्दा हो संघीयता र गणतन्त्रलाई समाप्त पार्नु ।’

देशमा संघीयता आए पनि अझैं अधिकार विहिन अवस्था रहेको बताउँदै उनले भने ‘प्रदेश सरकारहरु अधिकारसम्पन्न नभएसम्म संघीयता कमजोर अवस्थामा रहनेछन्, त्यसैले अधिकारसम्पन्न बनाएर काम गर्ने वातावरण श्रृजना गर्नु आवश्यक छ ।’ संघीयता मुलुकलाई प्रतिगमनतर्फ लाने प्रयास भईरहेकोले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप अधिकारप्राप्तिको बाटो अगाडि बढ्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए।

गरिबी र बेरोजगारी समस्यालाई समाधान गर्न प्राथमिकताकासाथ अगाडि बढ्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए । चौतर्फी रुपमा भ्रष्टाचार र कमिशन तीब्र बढ्दै गईरहेकोले सुशासन कायम कायम नभएसम्म देश समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने समेत उनले बताए ।

जनता समाजवादी पार्टीका अर्का नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले शोषित उत्पीडित एवम् अधिकारबाट वञ्चित समुदायको हक हितलाई सुनिश्चित गर्न आफुहरु एकतावद्ध भएर अगाडि बढेको बताए । कम्युनिष्ट र कांग्रेसमा कुनै नीति र सिद्धान्त बाँकी रहेकोले अबको वैकल्पिक राजनीतिक शक्तिको रुपमा जसपा एक मात्र विकल्प रहेको उनले दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रिय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य मनिष कुमार सुमन लगायतले सम्बोधन गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षता तथा युवा नेता शम्भु कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारीसहितका नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । तिवारीलाई अध्यक्ष यादवले टिका तथा माला लगाएर स्वागत गर्दै आगामी दिन थप सशक्त भएर पार्टीमा लाग्न आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस