बोर्डर बन्द हुँदा पनि रोकिएन वारुदजन्य विष्फोटक पदार्थको कारोबार !

राजविराज, २८ कार्तिक । कोरोना महामारीलाई रोकथाम गर्न नेपाल–भारत सिमामा आवतजावत रोक लगाइएपनि सप्तरीमा वारुदजन्य विष्फोटक पदार्थको कारोबार भने रोकिएको छ ।

पछिल्लो एक महिना यता मात्रै भारतीय बजारबाट खरिद गरेर ल्याउँदै गरेको ३ लाखभन्दा बढी रुपैयाँ बराबरको वारुदजन्य विष्फोटक पदार्थ प्रहरीले बरामद गरेपछि सो कुरा बाहिरिएको हो ।

शुक्रवार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गर्दै बरामद गरिएको उक्त वारुदजन्य पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका विभिन्न प्रहरी युनिटहरुले बरामद गरेको ३ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको वारुदजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार कोबरा बम १०० प्याकेट, हाईड्रोटोल्ड पटाका ५ प्याकेट, रकेट १३ प्याकेट,स्पिट फोल्ड फाईन्ड १० वटा, बम १६ प्याकेट, बिजुली प्रसर ३ प्याकेट, सुपर हनुमान ६ प्याकेट, टिकिय खेलौनामा लाग्ने गोली ५ प्याकेट बरामद गरिएको छ ।

यसैगरी नागिन ४७ बण्डल, चक्र बम ३५ प्याकेट, मिनि बुलेट बम ३८ प्याकेट, फुलझरी २० प्याकेट, चिरचिरी ६ बण्डल, झिरझिरे ६ बण्डल, चिटपुटिया ६० प्याकेट र सतरंगी १ बन्डल बरामद गरिएको सो सामानहरु नष्ट गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस