कोरोना महामारीमा पनि करदाता सेवा कार्यालयमा उत्साहजनक राजस्व संकलन

राजविराज, ७ मंसिर । कोरोना भाइरसको महामारीको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्याएको अवस्थामा पनि करदाता सेवा कार्यालय राजविराजमा राजस्व संकलन उत्साहजनक देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय लहान, करदाता सेवा कार्यालय राजविराजले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा १७ करोड ५९ लाखभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत वर्ष आर्थिकको तुलनामा झण्डै ६० लाख बढी हो ।

नवौं राष्ट्रिय कर दिवशको कर सप्ताह अन्तर्गत आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार आयकर, मुअ कर (आन्तरिक), अन्तःशुल्क (आन्तरिक) र अन्य कर गरी कुल १७ करोड ५९ लाख ६७ हजार ८६२ रुपैयाँ ७३ पैसा राजस्व संकलन गरेको छ ।

आयकरतर्फ १० करोड ४९ लाख ५० हजार ८१२ रुपैयाँ, मुअ कर (आन्तरिक)तर्फ ५ करोड ९१ लाख ९५ हजार ६२० रुपैयाँ, अन्तःशुल्क (आन्तरिक)तर्फ १ करोड ७ लाख ५८ हजार ९५० रुपैयाँ र अन्य (स्वास्थ्य सेवा/शिक्षा सेवा/स्वास्थ्य जोखिम कर)तर्फ १ करोड ६२ हजार ४७९ रुपैयाँ राजस्व संकलन गरिएको तथ्यांकमा छ ।

कर अधिकृत सुरेश दाहालले प्रस्तुत गरेको तथ्यांकअनुसार कार्यालयबाट गत वर्ष कार्तिक मसान्तसम्ममा कुल १७ करोड २५ हजार १०२ रुपैयाँ २५ पैसा राजस्व संकलन गरिएकोमा यस वर्ष राजस्व संकलनमा वृद्धि भएको हो । कार्यालय प्रमुख दाहालकै अध्यक्ष तथा सप्तरी उद्योगि वाणिज्य संघका उपाध्यक्ष शंकर दासको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

‘हाम्रा समस्यातर्फ सरकारको नजर नै पर्दैन’

कार्यक्रममा उद्योगी–व्यवसायीहरुले आ–आफ्ना समस्याहरु औल्याएका छन् । ‘सेवाग्राहीहरुबाट कर उठाउन हामीले पुलको काम गर्दैछौं, हाम्रा समस्यातर्फ भने सरकारको नजर नै पर्दैन’ कार्यालयका प्रमुख अतिथी समेत रहेका सप्तरी उद्योगि वाणिज्य संघका उपाध्यक्ष दासले भने–‘जसका कारणले अहिले उद्योगी व्यवसायीहरुलाई उद्योग व्यवसायी नै धरासायी बन्न पुगेको छ ।’ कर उठाउने मात्रै नभएर उद्योगी–व्यवसायीहरुको समस्यातर्फ पनि ध्यान पुर्याउन उनले सरकारसँग आग्रह गरे ।

अर्का उद्योगी दुर्गानन्द साहले अहिले मजदुर नपाएर उद्योग सञ्चालन गर्न कठिन भइरहेको बताए । ‘यसअघि भारतबाट मजदुर ल्याएर सञ्चालन गर्दै आएको ईट्टा उद्योग मजदुर ल्याउन नसकेर उद्योग नै बन्द हुने अवस्थामा पुगेको छ’ उनले भने–‘तर सरकारले भने उद्योगीहरुको समस्या वुझ्न सकेकै छैन् ।’

सप्तरी उद्योग वाणिज्य संघका सचिव ललित झा, व्यवसायीहरु दिनेश गुप्ता, शिवनारायण साह लगायतले पनि उद्योगी–व्यवसायीले झेल्दै आएको समस्याहरु राखे ।

उत्कृष्ट कर्मचारी र सवैभन्दा बढी कर दाखिला गर्ने करदाता सम्मानित

सोही कार्यक्रममा एक जना उत्कृष्ट कर्मचारी र सवैभन्दा बढी कर दाखिल गर्ने एक करदातालाई सम्मान गरिएको छ ।

कर प्रशासनमा रही उल्लेखनीय एवं प्रशंसनीय कार्य सम्पादन गरेको भन्दै कार्यालयका डाटा इन्ट्री सुपरभाइजर पदमा कार्यरत विनोद कुमार यादवलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

उत्कृष्ट कर्मचारीका रुपमा सम्मान थाप्दै डा.ई. सु.विनोद कुमार यादव ।
उत्कृष्ट कर्मचारीका रुपमा सम्मान थाप्दै डा.ई. सु.विनोद कुमार यादव ।

यसैगरी महुली लघुवित वित्तिय संस्थालाई जिल्लाभरमै सवैभन्दा बढी कर दाखिला गरेको भन्दै सम्मान पत्र प्रदान गरिएको छ ।

महुली लघुवित वित्तिय संस्थाका प्रतिनिधि ।

अग्नीसाइर कृष्णासवरण गाउँपालिका–६ महुलीमा अवस्थित सो संस्थाले ३५ करोड ५९ लाख ९३ हजार ९८४ रुपैयाँ २८ पैसा कारोबार गरी १ करोड ९९ लाख ५३ हजार २७७ रुपैयाँ २५ पैसा आयकर दाखिला गरेको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस