अनौठो भूतमेलामा श्रद्धालुको घुइँचो

लहान, १५ मंसिर । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँ–गाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । सिरहा–धनुषा जिल्लाको सिमाना छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भूतमेला लाग्ने गर्छ ।

सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतका पनि सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् । कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नको लागि गाउँघरबाट आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।

कतिपयले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतवार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालुहरु बताउँछन् । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको संख्या अत्यधिक रहने गरेका छन् ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।

मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस