शिक्षक, अभिभावक र विद्यार्थी बीच अन्तरक्रिया

राजविराज, २७ पुस । शिक्षक, अभिभावक र विद्यार्थीहरुसँगै बसेर शिक्षाको अधिकार र समस्याबारे राजविराजमा अन्तरक्रिया गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । नगरस्तरीय मानवअधिकार समूहको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयका सहप्रधानाध्यापक मोहन मिश्रले विद्यार्थीको चाप बढदै गएको र अनुशासन कमजोर हुँदै गएकाले विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक, बिद्यार्थीका साथै सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महिला शिक्षक निता यादवले स्वास्थ्य सुरक्षा अपनाउँदै बेञ्चमा दुई जना विद्यार्थी राखेर पढाउन सुरु गरिएकोमा विद्यार्थी सङ्ख्या बढ्दै गएपछि पाँच जनासम्म राखेर पढाउनु पर्ने अवस्था आएको बताए । अर्की महिला शिक्षक डल्लीकुमारी सिंहले सर्तकतापूर्वक पढाउन थालिए पनि कतिपय अभिभावकले सरसफाई नगरी र मास्क समेत नदिएर बालबालिकालाई विद्यालय पठाउने गरेको गुनासो गरे ।

अभिभावक बशिष्टनारायण झाले सरकारले महत्व र सुविधा दिएपछि सामुदायिक बिद्यालयतर्फ आर्कषण बढदै गएको तर शिक्षा समन्वय इकाई र स्थानीय तहको ध्यान पुग्न नसकेको बताए । विद्यार्थी पुनम भगतले पुरै घण्टी कक्षा हुन नसकेकोले परीक्षाको तयारीमा अवरोध भएको र प्रयोगात्मक कक्षा नहुने गरेको गुनासो गरे । विद्यार्थी संगीता यादवले सरसफाई कर्मचारी भएपनि शौचालय फोहोर रहने गरेको, सबै बिद्यार्थीहरुको गृहकार्य परीक्षण नहुने गरेको बताए ।

महिला शिक्षक सुमित्रा दासले अभिभावकलाई समय–समयमा विद्यालय आएर अनुगमन गर्न आग्रह गरे । महिला शिक्षक राशोदेबी साहले स्टाफ नर्स नियुक्त भएपनि ज्वरो नाप्ने थर्मामिटर, साबुनदेखि स्वास्थ्य सामाग्रीको व्यवस्था हुन नसकेको गुनासो गरे ।
अभिभावक जितेन्द्र झाले कोभिड–१९ को जोखिमप्रति बिद्यालय सतर्क नदेखिएको र कतिपय शिक्षकहरुको पढाउने कार्यमा रुची नदेखिएको भन्नु हुँदै शिक्षा समन्वय इकाईले छडके अनुगमन गर्नुपर्ने बताए । अभिभावकहरुले बिद्यार्थीहरुसँग मासिक, त्रैमासिक परीक्षा लिई मूल्यांकन प्रणाली अपनाउन सके विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले एक पक्षको अधिकारसँगै अर्को पक्षको कर्तव्य जोडिएकाले अधिकारसँगै जिम्मेवारी निर्वाहप्रति सबै जना गम्भिर बन्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता गर्नु भएका मानव अधिकार निगरानी समूहका संयोजक रघुबर साहले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको विषयमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिए ।

सहजकर्ता दिपककुमार यादवले कार्यक्रमको उद्देश्य बताएपछि सुरु भएको अन्तरक्रियामा पत्रकार दिनानाथ यादव, शिक्षक गिरीराज पौडेल, अभिभावक रामअवतार मण्डल, विद्यार्थीहरु राधाकुमारी यादव, राकेश यादव, बिरेन्द्र यादवलगायतले समस्याबारे जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस