मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको निरीक्षण

 

जनकपुरधाम, २९ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उक्त योजनाको प्रगतिवारे जानकारी लिदै दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले पहिलो चरणको कार्य सम्पन्न भए लगतै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको कार्य शुरु गरिने जानकारी समेत गराए ।

दोस्रो चरणको योजनाको लागी मन्दिर संग सरोकार राख्ने महन्थ, नागरिक समाज , राजनीतिकर्मी, सञ्चारकर्मी समेतको राय सुझाव लिन समेत उनले परियोजना प्रमुखलाई निर्देशन दिए । उक्त अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिवन्ध गर्नुका साथै श्रद्धालुहरुलाई जुत्ता चप्पल समेत परिसर बाहिरै राख्न लगाउनकालागि सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई निर्देशन समेत दिए ।

मन्दिरलाई सधैं सफा राख्न प्रदेश सरकारले सफाईकर्मी नै नियुक्त गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राउतले मन्दिरको सौन्दर्यीकरणकोलागि रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । मन्दिरको अगाडीमै रहेको जानकी फुलवारी सौन्दर्यीकरणको कामलाई समेत अगाडि बढाउन उनले निर्देशन दिए ।

सोही अवसरमा मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको टावर लाइटको समेत उद्घाटन गरेका छन् । स्थलगत निरीक्षणको क्रममा जनकपुरधाम उपमहानगरका प्रमुखलाल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव यम भुषाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डिई भगवान झा लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस