माघे संक्रान्ति (तिला संक्राइत) पर्व हर्षोउल्लासका साथ मनाइँदै

राजविराज, १ माघ । आज माघे संक्रान्ति अर्थात तिला संक्राइत पर्व हर्षोल्लासका साथ मनाइँदै छ । माघ महिनाको पहिलो दिन मनाइने मकर संक्रान्तिलाई पहाडका जिल्लाहरुमा माघे संक्रान्ति, मधेशका थारु समुदायले माघी तथा मैथिलाञ्चल लगायतका मधेशी समुदायले तिला संक्राइतको नामले मनाउने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भन्ने गरिन्छ । ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो ।

सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व छ ।

माघे संक्रान्तिका दिन नदी, पोखरीलगायतका जलाशयहरुमा स्नान गरी पूजाआजा गर्ने गरिन्छ । स्थान गरी पूजाआजा गरे तिलको खिचडीका साथै मुरही, चिउरा र तिलको लड्डु बनाएर खाने गरिन्छ । तिला संक्राइतका दिन दिउँसो खिचडी तथा राती मुरही, चिउरा तिलको लड्डु खाने अनिवार्यता रहेको छ ।

यसैगरी थारू समुदायले भने १ माघलाई नयाँ वर्षका रूपमा समेत मनाउने गर्छन् । पर्वका अवसरमा स्नान, गरी पूजाआजा पश्चात विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । यस अतिरिक्त माघी पर्वको अवसर विभिन्न स्थानहरुमा महोत्सवको आयोजना गरि परम्परागत पहिचान झल्काउने पहिरण लगाउनुका साथै खानेकुराका विभिन्न परिकारहरु प्रदर्शन गर्नुका साथै खाने र खुवाउने गरिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस