स्वास्थ्य अधिकारबारे सरोकारवाला बीच अन्तरक्रिया

राजविराज, १ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा राजविराज नगरपालिका कार्यालयको बैठक कक्षमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएपनि नागरिकहरू उक्त हकबाट बञ्चित हुनुपरेको र स्वास्थ्य सम्बन्धी समस्यै समस्या रहेको सहभागिहरूले गुनासो गरे । स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाउनुको साथै जिम्मेवारी बोध गराएको बताए । कोभिड–१९ महामारीको नियन्त्रणमा खटेका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको, खोप केन्द्रका लागि आएको बजेट सदुपयोग हुन नसकेको, आमा समूहलाई चियाको व्यवस्था समेत गर्न नसकिएको बताउँदै यादवले आफूले बनाएको योजना लागु गर्न सहयोग नपाएको बताए । स्वास्थ्य सम्बन्धी योजना, नीति, कार्यक्रमको सदुपयोगबारे निगरानी राख्न उनले आग्रह समेत गरे ।

कोभिड–१९ का कारण तथा स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको जिम्मा दिए पछि सेवाको स्तर कमजोर बनेको स्वीकार्दै स्वास्थ्य शाखाका सि.अहेव शिवनारायण चौधरीले राम्रो भनेर काम गरे पनि कमजोरीहरू औल्याएर थप जिम्मेबार बन्न कार्यक्रमले मद्दत पु¥याएको बताए । इन्सेकका सदस्य बैद्यनाथ झाले निगरानी समूहको नेतृत्वमा दवाव सृजना गर्न समूहलाई र अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरू समयमै समाधान गरी स्वास्थ्य क्षेत्रलाई नमुनाको रूपमा सञ्चालन गर्न नगरपालिकालाई आग्रह गरे ।
पत्रकार दिनानाथ यादवले अस्पतालका केही चिकित्सकले क्लिनिक, प्रयोगशाला तोकेर पठाउने गरेको तथा अनुमानको भरमा प्रयोगशालाले रिपोर्ट बनाउने र चिकित्सकले उपचार गर्ने गरेको गुनासो गरे । स्वास्थ्य स्वयमसेविका निर्मला पोखरेलले सेवासुविधाका साथै लामो समयदेखि स्वयमसेविकाहरूले तालिम नपाएको, शहरी स्वास्थ्य केन्द्रमा गर्भवती जाँच नहुने गरेको, म्याद सकिन लागेपछि औषधि र बालभिटा बाँडन दिने गरेको लगायतका समस्याबारे अवगत गराए ।

इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले सेवाप्रदायक निकायहरूलाई खबरदारी गर्ने तथा सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाका बारे स्थानीय समुदायलाई जानकारी दिई सचेत पार्ने काम इन्सेकले गर्दै आएको बताए । यूएनडब्लुएफपीका राकेशकुमार यादवले स्वास्थ्य विमाको प्रचारप्रसार नभएको, स्वास्थ्य स्वयमसेविका, आमा समूहको परिचालन हुन नसकेको, स्वस्थ्य क्षेत्र अव्यवस्थित रहेकोले जिम्मेवार निकायलाई नैतिक, मानसिक, सामाजिक दवाव दिन जरुरी रहेको बताए ।

कार्यक्रममा राजविराज नगरपालिका अन्तर्गत रहेको अस्पताल, स्वास्थ्य केन्द्र, खोप केन्द्रहरूको सेवा, औषधि तथा सेवा सुविधाको प्रयोग र सेवाग्राहीले पाइरहेको सेवाहरू बारेमा छलफल गरे । अन्तरक्रियामा सहभागीहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार चिकित्सक–कर्मचारी नरहेको, भएका चिकित्सक पनि निर्धारित समयसम्म नबसेर क्लिनिकमुखी भएको, उपचार गर्न झण्झट मानेर रेफर गर्ने गरेको, शहरी स्वास्थ्य केन्द्र र खोप केन्द्र व्यवस्थित हुन नसकेको, विद्यालयमा नियुक्त स्टाफ नर्सले कुनै काम नपाएको जस्ता समस्या राखे ।

कार्यक्रमका अध्यक्ष मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुवर साहले समस्या पहिचान गर्दै घच्घचाउने काम भइरहेकोमा अब छिट्टै समस्याहरू सुत्रबद्ध गरेर ज्ञापनपत्र बुझाउने तयारी गर्न लागिएको बताए । इन्सेक सप्तरीका सहजकर्ता दिपककुमार यादवले परियोजनाअनुसार राजविराज नगरपालिका र बिष्णुपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूको समाधानका लागि इन्सेकले विभिन्न क्रियाकलाप गर्दै गरेको जानकारी दिदै स्वास्थ्य अधिकारका बारेमा जानकारी गराए ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखाका उपप्रमुख हरिवंश यादव, स्वास्थ्य स्वयमसेविका, पत्रकार र सेवाग्राहीको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस