जनकपुरधाम, ३ फागुन । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले तेस्रो चरणमा विरोध सभा गर्न लागेको हो । सभालाई सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभापति देउवा रुपन्देहीको बुटवल, वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङको सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङ, कृष्णप्रसाद सिटौलाले झापा, प्रकाशमान सिंहले पोखराको सभालाई सम्बोधन गर्नेछन् ।
त्यसैगरी, डा. शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको सभालाई सम्बोधन गर्ने जनाइएको छ ।