राजविराज, ७ फागुन । सप्तरीस्थित राजविराज कारागारका १० जना कैदीको कैद सजाय मिनाहा भएको छ । राजविराज कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको हो ।
कैद मिनाहा पाउनेहरुमा बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लगायत मुद्दाका कैदीबन्दीहरु छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमा माफी मिनाहा गरेकी छिन् ।
प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप उनीहरुको कैद सजाय मिनाहा भएको हो । शुक्रवारै केही बेरमा उनीहरुलाई रिहा गरिने निमित्त जेलर रामले बताए ।