दुध ढुवानी गर्ने गाडीलाई अत्यावश्यक सवारीको लोगो प्रदान गरिने

काठमाण्डौं १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सवारीको रुपमा निर्वाध रुपमा संचालन गर्ने गरी दुध ढुवानी गर्ने गाडीका लागि ‘लोगो’ सार्वजनिक गरेका छन् । लोगो सार्वजनिक भएपछि विश्वमै दुध ढुवानीका साधनलाई अत्यावश्यक सवारीको लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुने भएको हो ।

कृषि पशुपन्छी मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय दुध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवले कृषकहरुको समस्यालाई मध्यनजर गर्दै बोर्डको १११ औं बैठकबाट लोगो तथा ११२ औं बैठकबाट लोगो संचालन कार्य विधि समेत पास भईसकेको बताए । उनले अब कुनै पनि बन्द हड्तालमा दुध ढुवानीका साधनलाई कुनै प्रकारको समस्या नहुने र जसले गर्दा बजारिकरणको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

उनले लोगो दुध विकास संस्थान, नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघको सिफारिसको आधारमा सो लोगो प्रदान गर्ने कार्य विधि बनाएको जानकारी दिए । संचालन कार्य विधिमा लोगोको दुरुउपयोग गर्नेलाई कारबाही गर्ने व्यवस्था समेत राखिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा.यादव नियुक्त भएको १ वर्षकै अवधिमा उनले गरेको काम दुध विकास बोर्डकै इतिहासमा उदाहरणीय रहेको बोर्डका एक कर्मचारीले बताए । डा.यादवको काम गर्ने शैली अरुभन्दा पृथक रहेकाले राष्ट्रिय दुध विकास बोर्डको कामले गति लिएको बताउँदै राष्ट्रिय दुध विकास निति क्याबिनेटमा गईसकेकोले छिट्टै पास भएर आएपछि लागु हुने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस