राजविराज, २७ चैत । सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा सडक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत स८प ७३३० र स६प ५२४३ नम्वरको मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ५२४३ नम्वरको मोटरसाइकल चालक खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, स्थानीयहरु भने नियन्त्रणमा लिइएका मोटरसाइलक चालक अर्कै व्यक्ति रहेको दावी गरेका छन् ।
ठक्कर दिने सक्कली चालकलाई उम्काउनको लागि नक्कली चाकललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा हाजिर गराइएको उनीहरुको भनाई छ । मधेशलाइभसँग कुरा गर्दै एक स्थानीयले भने चालक हेरफेर गर्न डेढ लाख रुपैयाँको चलखेल भएको छ ।
सो दुर्घटनामा मृतकका बच्चाहरु पनि घाइते भएर उपचारार्थ आइसीयूमा छन् । यद्यपी, सो विषयमा प्रहरीसँग जानकारी छैन् । प्रहरी नायव उपरीक्षक काफ्लेले भने–‘अन्य घाइतेहरु भए हामी रिपोर्ट पठाउँछौं । तर रकम लेनदेनको कुरा छैन् । उनले त्यसो भएको पाइए संलग्नलाई कारवाही गर्ने बताए ।