जनकपुरधाम उद्योग वाणिज्य संघ चुनाव : मतगणनास्थलमा प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद भएको छ। खसेभन्दा बढी मतपत्र बाहिरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले प्रदर्शन गरिरहेका छन्।

शनिबार भएको निर्वाचनपछि आइतबार जारी मतगणनाको क्रममा वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेका बेला सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षले खसेभन्दा बढी मतपत्र फेला परेको आरोप लगाएका छन्।

उनीहरूले निर्वाचन आयोगले धाँधली गरेको भन्दै विरोध प्रदर्शन सुरु गरेका छन्।

भण्डारी पक्षले निर्वाचन समितिको विरोध मतगणना स्थल गोपाल धर्मशालामा टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरेका छन्। प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले  लाठीचार्जसमेत गरेको छ। जसमा ३–४ जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ।

मतगणना स्थलमा विवाद बढेपछि तनाव बढ्न नदिन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रदर्शनकारीले मतदान ४ हजार ३ सय ११ मात्र भएकोमा मतपरिणाम ४४ सयभन्दा बढी मतपत्र देखिएकाले निर्वाचन आयोगले धाँधली गरेको आरोप लगाए।

यता, निर्वाचन समितिका अनुसार मतगणनामा मनिषरमण साहले अग्रता लिएपछि भण्डारी पक्षले जबर्जस्ती विवाद सिर्जना गरेको आरोप लगाएको छ। विवादकै कारण मतगणनासमेत स्थगन गरिएको छ। यद्यपि, अन्य पदको मतगणना भने हुँदैछ।

यता, अध्यक्ष पदमा जितेन्द्र महासेठ एक हजारभन्दा बढी मतान्तरले आफ्ना प्रतिद्वन्द्वी जितेन्द्रप्रसाद साहलाई पराजित गर्दै विजयी भएका छन्।
त्यसको आधिकारिक घोषणा भने हुन बाँकी छ।

Author:



क्याटोगरी छान्‍नुहोस