अस्पतालको लापरवाहीले बिरामीको मृत्यु, आफन्तद्वारा नाराबाजी

सिरहा । सिरहाको लहानसस्थित सप्तऋषि अस्पतालमा चिकित्सकको लापरबाहीले एकजना बिरामीको ज्यान गएको छ । सखुवानान्कारकट्टी गाउँपालिका-२ की ३५ वर्षीय रामवती यादवको आइतबार अस्पतालबाट रिफर गर्नै लाग्दा मृत्यु भएको हो ।

अस्पतालकै लापरवाहीले आफ्नो बिरामीको मृत्यु भएको परिवारजनको आरोप छ । मृतकका आफन्तले अस्पतालमा नाराबाजीसमेत गरेका छन् । घटनाको छानबीन, दोषीमाथि चिकित्सकमाथि कारवाही, मृतकलाई क्षतिपूर्ति एवम् अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै आफन्तले नाराबाजी गरेका हुन् ।

उनीहरूले शव उठाउन पनि मानेका छैनन् । घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नउठाउने समेत उनीहरूको अडान छ । ड्याबिटिजका बिरामी रहेकी रामवती गत २६ गते उक्त अस्पतालमा भर्ना भएकी थिइन् । आइसीयूमा राखेर उपचार गरिए पनि नाजुक अवस्थामा पुर्याएर अस्पतालले रिफर गरेको र लगत्तै मृत्यु भएको मृतकका छोरा कृष्ण यादवले सुनाए ।

‘आमाको स्वास्थ्यमा सुधार देखिएपछि हामीले पटकपटक अन्य अस्पतालमा रिफर गरिदिन आग्रह गर्यौं,’ उनले भने, ‘तर, डाक्टरले वास्ता गरेनन्, अन्तिम अवस्थामा रिफर गर्यो ।’ उनले रिफरका बाहिर ल्याउँदा अक्सिजन समेत नलगाएको बताए ।

रेफरको लागि बाहिर ल्याएको एकछिनमै अस्पताल हाताभित्रै आमाले दम तोडेको कृष्णको भनाइ छ । यता, अस्पतालका चिकित्सक सन्देश रौनियारले भने बिरामीका आफन्तले भनेअनुसार नै आफूहरुले बाहिर रिफर गरिदिएको दावी गरे । आफ्नो लापरबाही नभएको अस्पतालको दावी छ ।

 

 

 

Author:



क्याटोगरी छान्‍नुहोस