तराई मधेशमा आज जुडशीतल (सिरुवा) पर्व मनाइँदै

राजविराज, २ वैशाख । तराई मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल (सिरुवा) पर्व मनाइँदैछ । नयाँ वर्षको आगमनसँगै प्रत्येक वर्ष वैशाख २ गते यो पर्व विशेष महत्वका साथ मनाईने गरिन्छ ।

आज एकाबिहानैबाट आफूभन्दा ठूला बडाहरुबाट टाउँकामा चिसो पानी थापेर आशिर्वाद ग्रहण गरेर खानाको विभिन्न परिकार तथा पकवानहरु खाएर यो पर्व मनाईने गरिन्छ । यो पर्वमा खानाको विभिन्न परिकार तथा पकवानहरु बनाएर खानुका साथै छरछिमेकका मान्छेहरुलाई बोलाएर खाना खुवाउने गरिन्छ ।

थारु समुदायमा सिरुवाको नामले मनाईने विशुद्ध रुपमा कृषि एवम् साँस्कृतिक पर्व सामाजिक सद्भाव, भाइचारा, आदर्श एवम् सम्बन्ध बिस्तार गर्ने पर्वको रुपमा रहेको छ । एकाबिहानै गाउँहरुमा पाको उमेरका मान्छेहरुले आफूभन्दा सानाको टाउँकामा चिसो पानी राखेर आशिर्वाद दिने तथा आशिर्वाद थाप्नेले खुट्टा छोएर दण्डवत गर्ने परम्परा रहेको छ ।

सिरुवा पर्वकै अवसरमा घर, आँगन सफा गर्नु, रुख–बिरुवामा समेत पानी हाल्नुका साथै हिलो छ्याप्ने गरिएकोले वातावरणीय दृष्टिकोण पनि यो पर्व महत्वपूर्ण रहेको छ । सिरुवा पर्वमा देवीदेउतालाई बासीभात, आँपको चिचिलाको चटनी, खानाको परिकार, दुध, दही आदी चढाईने गरिन्छ ।

यो पर्वको राति कसैको घरमा चुलो बालिदैन । पूजा गरिसकेपछि रातमा खाना नपकाउने र चुल्होलाई एक रात आराम दिनुपर्ने धार्मिक मान्यता रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस