सञ्चार क्षेत्र सरकारको आँखा होः मन्त्री यादव

लहान, १ वैशाख । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सञ्चार क्षेत्रको सहयोग विना प्रदेशको समृद्धि सम्भव नरहेको बताएका छन् । सिरहाको गोलबजारमा बुधवार एमस्टर टेलिभिजनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकारको नजर पर्न नसकेका समस्याहरु पनि देखाएर सञ्चार क्षेत्रले सरकारलाई हरक्षण सहयोग गर्दै आएको उनले बताए । ‘सञ्चार क्षेत्र सरकारको आँखा हो’ उनले भने–‘आँखाले गर्ने जतिको काम सञ्चार क्षेत्रले पनि सरकारको लागि गर्दैआएको छ ।’

आगामी दिनमा पनि सञ्चार क्षेत्रले सरकारलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । ‘हामी यस प्रदेशलाई समृद्ध प्रदेश बनाउने कार्यमा लागेका छौं’ उनले भने–‘यो कार्यमा सञ्चार क्षेत्रको भुमिका र सहयोग अति आवश्यक छ ।’

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनुमा पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्दै मन्त्री यादवले सञ्चार क्षेत्रको संरक्षण सम्वद्र्धनका निम्ति अघि बढेको बताए । ‘सञ्चार क्षेत्रबाट प्रदेश सरकारले साथ र सहयोग पाएकै छ, र अब हामीले पनि सञ्चार क्षेत्रको समस्या वुझेर समाधान गर्ने कार्यमा लागेका छौं’ उनले भने–‘त्यसैकालागि हामीले आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिल स्थापना गरेका छौं ।’

केही कार्यहरु बाँकी रहेकाले सोबारे गृह कार्य भइरहेको उनले बताए । सञ्चार क्षेत्रमा आर्थिक सहयोग गर्ने कुरामा पनि गृह कार्य भइरहेको मन्त्री यादवको भनाई छ ।

सोही कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले सञ्चारकर्मीकोलागि पेन्सलको व्यवस्थान गर्न लागेको बताए । ‘पत्रकारितामा रहेको पीडालाई हामीले नजिकबाट नियालेको छु र सोही पीडामा केही हदसम्म मलहम लगाउने काम पक्कै गछौं पनि’ उनले भने–‘त्यसैकालागि हामीले पेन्सल कार्यक्रम ल्याउन लागेको हो ।’

यसैगरी सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चारकर्मीले विश्वास कायम राखेर अघि बढ्न आग्रह गरे । ‘सञ्चारकर्मीमाथिको अविश्वास भनेको लोकतन्त्रमाथिको खतरा हो’ उनले भने–‘त्यसैले पनि विश्वास कायम राख्नु जरुरी छ ।’

अध्यक्ष यादवले आचार संहितालाई ध्यानमा राखेर कार्य गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस