वैदेशिक रोजगारीः सप्तरीका मासिक दुई जनाले गुमाउँछन् ज्यान

राजविराज । सप्तरीबाट वैदेशिक रोजगारीमा गएकामध्ये मासिक दुई जनाले ज्यान गुमाइरहेका छन् । सप्तरी समुदायिक विकास केन्द्र नेपाल र सुरक्षित आप्रवासन परियोजना (सामी) ले आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले सो कुरा देखाएको हो ।

तथ्यांकअनुसार सप्तरीबाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्ष २०७७–०७८ को अहिलेसम्म २४ जनाले ज्यान गएका छन् । सो अवधिमा सात जनाले आत्महत्या गरेका छन् भने चार जनाको कोरोना भाइरस संक्रमण तथा चार जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

यसैगरी अन्यको विभिन्न घटनामा परेर ज्यान गएको सुरक्षित आप्रवासन परियोजनाका संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।

सप्तरीबाट २०६५ सालयता चार सय ५३ महिला र एक लाख १४ हजार पुरुष गरी कुल एक १४ हजार ४९९ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये अहिलेसम्म २ सय २ जनाको ज्यान गएको तथ्यांकले देखाएको छ ।

नवनिर्वाचितलाई सम्मान

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको पदाधिकारीमा नवनिर्वाचितसहितका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सप्तरी समुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले शाखाका अध्यक्ष श्रवणकुमार देव लगायत सवै पदाधिकारी तथा प्रदेश २ का मिडिया काउन्सिलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई र प्रदेश २ कै आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवल लगायतलाई सम्मान गरेका छन् ।

अध्यक्ष चौधरीकै अध्यक्षता तथा सामीका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले प्रमुख अतिथ्यमा आयोजना गरिएको कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन संस्थाले गर्दै आएको भूमिका बारे स्पष्ट गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस