धनुषामा आंशिक लकडाउन, ६ घण्टा मात्र पसल खुल्ने

जनकपुरधाम । कोभिड-१९ संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा आंशिक लकडाउन सुरु भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकबाट अत्याधिक भिडभाड हुने बजारमा कडाई गर्दै आंशिक लकडाउन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बैठकबाट जिल्लाको विभिन्न स्थानमा रहेको हाट बजारलाई विहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजे देखि साँझ ७ बजेसम्म खोल्न पाइने र सो को अनुगमन सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीले गर्ने निर्णय भएको जनाएको छ ।

त्यस्तै बैठकबाट सरकारी कार्यालयहरुमा अत्याधिक भिड हुने गरेकोले भीडभाड कम गरी संक्रमण जोखिम न्यूनिकरण गर्न अनलाईन प्रणाली लगायत अन्य वैकल्पिक प्रणालीको प्रयोग गर्न तथा स्थानीय तह अनुसार आलोपालो प्रणालीमार्फत सेवा दिने निर्णय समेत भएको छ ।

संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा वैशाख १० गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए ।

उपमहानगरपालिकालाई ३०, नगरपालिकालाई २० र गाउँपालिकालाई कम्तिमा १५ वटा आइसोलेशन बेड तथा क्वारेन्टिनको व्यवस्था गराउने निर्णय भएको छ । धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएको हुनाले सीमानाकामा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी संचालनमा ल्याउने तथा आवश्यकता अनुसार होल्डीङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ ।

यसका साथै कोरोना परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जनशक्तिको अभाव भएकोले पीसीआर परिक्षणलाई प्रभावकारी बनाउनको लागि कर्मचारी आपूर्ति गर्न सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत भएको प्रजिअ बास्तोलाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस