जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएपछि यस्तो निर्देशन दिएका हुन् ।
ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।
सिसिएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, सङ्क्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो । यसैगरी सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सिसिएमसीलाई निर्देशन दिएका छन् ।