विराटनगर । पाँचथरमा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । फिदिम नगरपालिका–३ सुङनिमा चौकस्थित झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको हो ।
एम्बुलेन्स अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल झरेको थियो । दुर्घटनामा पाँचथरकै याङवरक गाउँपालिका–२ का ५० बर्षीया ममता राईको मृत्यु भएको जिल्ला प्र्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी ममताको उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा–३ का ५५ बर्षीय डोड कुमार राई घाईते घएका छन् । दुवै जनाको अवस्था समान्य रहेको जनाएको छ । एम्बुलेन्स चालक पाँचथरको हिलिहाङ–२ सिहापुरका २८ बर्षीय बिरेन्द्र धिताललाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।