‘त्यो पर्दैन’ भनेर प्रधानमन्त्रीद्वारा लिइएको शपथ बदर गर्न जसपाको माग

जनकपुरधाम, २ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राजदूत नियुक्तीमा समावेशी सिद्धान्त उल्लंघन भएको दावी गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै राज्यका सबै निकायमा समानुपातिक समावेशी मान्यताअनुसार नियुक्ती गर्न माग गरेका छन् ।

नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्त बमोजिम राजदूतहरु नियुक्ती गर्नुपर्ने व्यवस्था भएकोमा पटक पटक राजदूतहरु नियुक्ती गर्दा समावेशी आधारमा नगरेको र त्यसको मापदण्ड समेत उल्लंघ गरेको विज्ञप्तिमा दावी गरिएको छ ।

‘राजनितिक नियुक्तीहरुमा वर्तमान सरकारले मधेशी, आदिवासी, जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरुको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन्’ विज्ञप्तिमा भनिएको छ–‘अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ती गर्न हाम्रो पार्टी माग गर्दछ ।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएकोले शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन माग गरिएको छ ।

‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’, विज्ञप्तिमा छ ।

यसैगरी सरकारले कोभिडको आपतकालीन अवस्थामा स्वास्थ्य सामग्रीको व्यवस्थान गर्न नसकेको विज्ञप्तिमा आरोप लगाएको छ । कोरोना संक्रमितका अस्पतालमा बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधकिो समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको भन्दै स्वास्थ्यकर्मी, डाक्टर अर्थात आवश्यक जनशक्ति बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न जसपाले माग गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस