केही स्थानमा भारी वर्षाको सम्भावना

जनकपुरधाम । भारतको राजस्थान आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’को प्रभाव नेपालमा पनि देखिएको छ । यसको असरले आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने आज दिउँसो भारी वर्षा हुने र क्रमिक रूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका केही स्थानमा हल्कादेखि मध्यम र कयौँ स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाका सम्भावना रहेकाले आगामी २४ घण्टा सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस