सञ्चारकर्मी दम्पतिको वर्षगाँठः छाक टार्न नसकेका ५० परिवारलाई भोजन

राजविराज । सप्तरीका एक वरिष्ठ सञ्चारकर्मीले छाक टार्न नसकेका ५० परिवारलाई भोजन खुवाएर आफ्नो बैवाहिक वर्षगाँठ मनाएका छन् । पछिल्लो समय निकै तामझामकासाथ केक काटेर भव्य भोज–भतेर गरेर वर्षगाँठ मनाउने चलन रहदै आएको छ । तर, पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्वाददाता धीरेन्द्रप्रसाद साह र उनकी पत्नी शिक्षिका सुनिताकुमारी साहले फरक शैलीमा आफ्नो वैवाहिक वर्षगाँठ मनाएर चर्चाको पात्र बनेका छन् ।

कोरोना महामारीलाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण काममा जान नसकेर छाक टार्न समस्यामा परेका राजविराज नगरपालिका–६ स्थित एक बस्तीका गरिब, विपन्न र दैनिक ज्यालादारी मजदुर एकल महिला गरी ५० परिवारलाई घरमै पुगेर उनीहरुले भोजनको लागि खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

सप्तरीमा निषेधाज्ञा जारी भएदेखि सामाजिक अभियन्ता तथा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साह र अभियानका सप्तरी प्रमुख रमिलादेवी साहले अभियानकै रुपमा वितरण गर्दै आएको एक छाक राहत कार्यक्रम मार्फत साह दम्पतिले १९ वर्षगाँठको अवसरमा राहत वितरण गरेका छन् ।

साह दम्पतिले एक सय किलो चामल, सोही अनुपातमा आलु, दाल, नून लगायतका खाद्यान्न सामग्री सहयोग गरेको र सो राहतबाट करिब अढाइ सय व्यक्ति लाभान्वित भएको अभियानी रमिलाले जानकारी दिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस