नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैनः डब्ल्यूएचओ

जनकपुरधाम, २० जेठ । नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले स्पष्ट गरेको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको खबर बेलायतस्थित एक अनलाइन पत्रिकाले प्रकाशित गरेपछि डब्ल्यूएचओले यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको भन्दै बेलायती ट्ब्लोइड अखबार डेलीमेलले बेलायतीको छुट्टी समेत प्रभावित बन्न सक्ने समाचार प्रकाशित गरेपछि सो समाचार विश्वव्यापी बनेपछि डब्ल्यूएचओको नेपालस्थित कार्यालयले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रष्ट गरेको छ ।

ट्वीटमा भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन ।’ हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको ट्वीटमा उल्लेख गरेको छ ।

यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले बेलायती सञ्चारमाध्यमको दावीबारे आफुहरुलाई कुनै जानकारी नरहेको बताउँदै सोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस