मन्त्री महतोले सच्याए आफ्नो विवादास्पद अभिव्यक्ति

जनकपुरधाम । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार सम्हालेलगत्तै नेपाललाई बहुलराष्ट्रिय राज्य बनाउने दिएको विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि मध्यरातमा विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याएका हुन् ।

उनले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार गरिएको विज्ञप्तिमा दाबी समेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।’

मन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् । पदभार सम्हालेलगत्तै महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस