प्रदेश २ मा नयाँ सत्ता समिकरण, यस्तो छ अङ्क गणित

जनकपुर, २३ जेठ । तत्कालिन राष्ट्रिय जनता पार्टी अर्थात जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सामेल भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तनको अभ्यास शुरु भएको छ । ठाकुरको पक्षको तर्फबाट राजेन्द्र महतोको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा शुक्रवार सहभागी भएका हुन् ।

ओली सरकारमा राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिंचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पाएका हुन् । यसैगरी चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री ओलीले मधेशको मूल मुद्दाहरु सम्बोधन गरिदिने प्रलोभनमा परेर ठाकुर पक्षबाट महतोको नेतृत्वमा सरकारमा सामेल भएपछि जनता समाजवादी पार्टी नेपाल लगभग दुई चिरामा विभाजन भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा सामेल भएका छन् भने तत्कालीन सङ्घीय समाजवादी फोरम भने ओली सरकारको विपक्षमा खरो रुपमा उभिएका छन् ।

तत्कालीन सङ्घीय समाजवादी फोरम र तत्कालीन राजपाको सहकार्यमा प्रदेश २ मा सरकार गठन भएको थियो । हाल ठाकुर पक्षधर सरकारमा सहभागी भएपछि तत्कालिन राजपा मुख्यमन्त्री लालबाबु राउतको विपक्षमा उभिएका छन् । उक्त पक्षले हाल प्रदेश सरकारको दोस्रो वरियता क्रममा रहेका भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनललाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाउन कसरत थालेका छन् भने सोही पक्षका केहीले प्रदेश सांसद मनिष कुमार सुमनको नाम समेत चर्चामा ल्याएका छन् ।

प्रदेश सरकार गठन गर्नकालागि ठाकुर पक्षधरले नेपाली कांग्रेससँग समेत सत्ता साझेदारकालागि हात बढाएका छन् । यद्यपी कांग्रेस भने संघीय सरकारको विपक्षमा खरो रुपमा उभिएका कारण प्रदेश २ कांग्रेसले कुनै पनि हालतमा ओली समर्थकसँग सहकार्य हुन नसक्ने एक केन्द्रीय नेताले बताए । उनले भने ‘प्रजातन्त्र र लोकतन्त्रकालागि सङ्घर्ष गर्ने हाम्रो पार्टीले प्रतिगमनकारी पक्षलाई कुनै पनि हालतमा साथ दिँदैन, हामी जनचाहना अनुरुप जनताको पक्षमा खरो रुपमा उभिन तयार छौं ।’

प्रधानमन्त्री ओली र ठाकुर पक्षले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनको रणनीति अख्तियार गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवको प्रदेश २ सरकारतिर ध्यान केन्द्रित भएको छ । प्रदेश सरकारमा सामेल ठाकुर पक्षधर मन्त्रीहरुलाई हटाएर नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रसँगको सहकार्यमा सरकार पुनर्गठन गर्न अध्यक्ष यादवले कसरत थालेका छन् ।

ठाकुर पक्षधर तत्कालिन राजपा शक्रवार सरकारमा सहभागी हुने निश्चित भएलगत्तै शुक्रवारै अध्यक्ष यादवले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग छलफल गरेका थिए । पहिलो चरणको छलफलमा निधीले कांग्रेसलाई मुख्यमन्त्री दिन प्रस्ताव गरेका थिए । यद्यपी अध्यक्ष यादवले भने मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा सरकार पुनर्गठन गर्नुपर्नेमा जोड दिएको श्रोतले जनाएको छ ।

जसपा अध्यक्ष अध्यक्ष यादवले शुक्रवार साँझ प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आईपुगेका छन् । जनकपुर बसाईका क्रममा मुख्यमन्त्री राउतसहित मन्त्रीहरुसँग छलफल गरेका छन् । यसअतिरिक्त उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी वुद्धिजिवी तथा पार्टीका नेता एवम् प्रदेश सांसदहरुसँग समेत छलफल गरेका छन् ।

यता तत्कालीन राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउने तयारी भईरहेको जनाईएको छ । प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री बनेका नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री बनेका रामनरेश राय यादवले जसपा अध्यक्ष उपेन्द्र यादवकै पक्षमा उभिएका कारण उनीहरु भने मन्त्री मण्डलमा यथावतै रहने लगभग निश्चित छ । नेपाली कांग्रेसले मुख्यमन्त्री राउतकै नेतृत्वमा गठन हुने प्रदेश २ सरकारमा केही मन्त्री फेरबदल तथा केही मन्त्रालय थप गरेर सरकार पुनर्गठन गर्न जसपा अध्यक्ष यादव कसरतमा जुटेका छन् ।

यस्तो छ सत्ता समिकरण अङ्क गणित

प्रदेश २ सभामा कुल १०४ जना सांसद छन् । जसमध्ये तत्कालिन राजपाका एक जना सभामुख छन् । प्रदेश २ सरकारमा पूर्व सङ्घीय समाजवादी पार्टीका ३३ जना, काँग्रेसका १९ जना, माओवादी केन्द्रको ८ जना तथा नेकपा एमालेको कुल २१ जनामध्ये नेपाल–खनाल पक्षका १३ जना प्रदेश सांसद रहेका छन् । नेकपा एमाले ओली समुहमा ८ जना र पूर्व राजपामा २२ जना सांसद रहेका छन् । माओवादी केन्द्रले यस अघि तीन जनालाई निष्कासन गरेपछि उक्त सङ्ख्या घटेको छ ।

बहुमतको सरकार बनाउन ५३ जना प्रदेश सभा सदस्यहरुको आवश्यकता पर्दछ । तत्कालीन सङ्घीय समाजवादी पार्टीको ३३, काँग्रेसको १९, माओवादी केन्द्रका ८ र नेकपा एमाले नेपाल–खनाल समुहको १३ गरी सांसद सङ्ख्या ७३ पुग्छ ।

ठाकुर पक्षबाट महतोको नेतृत्वमा ओली सरकारमा सहभागी भएपछि वुद्धिजिवी एवम् कार्यकर्ताहरुबाटै व्यापक आलोचना हुन थालेको छ । कार्यकर्ताबाट समेत दवाब आउन थालेका कारण केही सांसद जसपा अध्यक्ष यादवको पक्षमा थपिने सम्भावना समेत बढ्दै गएको छ । अर्कोतर्फ प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस उपसभापति विमलेन्द्र निधी ओली सरकारमा सहभागी महतोसँग झिनो मतको अन्तरले पराजित भएका थिए । विकासप्रेमी नेता अर्थात धनुषाको आइडल नेताको रुपमा चिनिएका निधिले जनकपुरधामसहित जिल्लामा सडक सञ्जाल लगायतका भौतिक पूर्वाधारमा उल्लेखनीय योगदान पुर्याएका छन् ।

नेता निधिले पराजय भएपछि महतोले निर्वाचन क्षेत्र तथा धनुषाको विकासमा खासै उल्लेखनीय कार्य नगरेकोले जनता समेत असन्तुष्ट रहेको स्थानीय वुद्धिजिविहरुको विषलेशन छ । कांग्रेसले ठाकुर पक्षलाई प्रदेश सरकारमा सहकार्य गरे आगामी निर्वाचनमा पार्टीलाई समेत घाटा हुने भएकोले जसपा अध्यक्ष उपेन्द्रकै पक्षसँग सहकार्य हुनुपर्ने पुराना कांग्रेसी नेताहरुको टिप्पणी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको जनकपुरधाम बसाई र भेंटघाट एवम् छलफल अत्यन्तै फलदायी देखिएको छ । हालको मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा चाँडै नयाँ सरकार पुनर्गठन हुने निश्चित जस्तै देखिएको एक प्रदेश सांसदले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस