जनकपुरधाम, २० जेठ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।
लामो समयदेखि दलभित्र असन्तुष्टि झेल्दै आएका साहले पार्टी नेतृत्वको दबाबपछि पद त्याग गरेका हुन्। करिब १० महिनाअघि माओवादी केन्द्रका मधेश प्रदेशसभा सदस्यहरूमध्ये ६ जनाले साहको नेतृत्वप्रति असहमति जनाउँदै अध्यक्ष दाहाललाई हस्ताक्षरित पत्र बुझाएका थिए।
सांसदहरूको स्पष्ट असहमति हुँदासमेत साहले प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको समर्थनमा पद नछाड्ने अडान लिँदै आएका थिए। तर हालै पार्टी अध्यक्षसमक्ष साहले पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै उजुरीहरू परेपछि केन्द्रीय नेतृत्व सक्रिय भएको थियो।
पार्टी पदाधिकारी बैठकले साहलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेपछि उनले सोमबार औपचारिक रूपमा राजीनामा दिएका हुन्।
साहको राजीनापछि माओवादी केन्द्रले नयाँ संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सम्भावित नेताहरूको नाम आन्तरिक रूपमा छलफलमा रहेको बताइएको छ।