एजेन्सी, काठमाडौं – २० जेठ। भारतमा कोरोना भाइरसको संक्रमण पुनः विस्तार हुँदै गएको देखिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर सक्रिय कोभिड–१९ संक्रमितको संख्या ४ हजार २६ पुगेको छ।
भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’का अनुसार केरला राज्य सबैभन्दा बढी प्रभावित भएको छ। त्यसपछि महाराष्ट्र, गुजरात र दिल्लीमा पनि संक्रमण दर उच्च छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा पाँचजनाको मृत्यु भएको मन्त्रालयको रिपोर्टमा उल्लेख छ। जनवरी यता देशभर ३७ जनाको मृत्यु भइसकेको छ।
गत मे २२ मा भारतमा २५७ जना सक्रिय संक्रमित थिए। यो संख्या मे ३१ मा तीन हजार ३९५ पुगेको थियो भने अहिले चार हजार नाघेर ४,०२६ पुगेको छ।
राज्यगत हिसाबले हाल केरला राज्यमा १,४४६ जना सक्रिय संक्रमित छन्। त्यसपछि महाराष्ट्रमा ४९४, गुजरातमा ३९७ र दिल्लीमा ३९३ केस छन्।
मृत्यु हुनेहरूमध्ये केरला, तमिलनाडु र पश्चिम बंगालमा एक–एक जना र महाराष्ट्रमा दुई जना रहेका छन्।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का महानिर्देशक डा. राजीव बहलका अनुसार पछिल्लो समय देखिएका केसहरूमा ओमिक्रोनका उप–प्रकारहरू— एलएफ.७, एक्सएफजी, जेएन.१, र एलबी.१.८.१ पत्ता लागेको बताएका छन्।
“यी भेरियन्टहरू गम्भीर प्रकृतिका छैनन्। धेरैजसो केसहरूमा एलएफ.७, एक्सएफजी र जेएन.१ देखिएका छन्,” उनले भने।
डा. बहलका अनुसार स्थिति नियन्त्रित देखिएको भए पनि सतर्कता अपनाउन आवश्यक छ। “हामी नजिकबाट निगरानी गरिरहेका छौँ। हालको अवस्था चिन्ताजनक छैन, तर सतर्क रहनु आवश्यक छ,” उनले स्पष्ट पारे। File Pic.