पतञ्जलीको जग्गा प्रकरणमा माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

काठमाडौं, २२ जेठ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली योगपिठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। काभ्रेपलाञ्चोकमा रहेको पतञ्जली योगपिठ तथा आयुर्वेदिक कम्पनीको नाममा हदबन्दी छुटको जग्गा कानुन विपरीत खरिद बिक्री गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

प्रकरण २०६६ सालको हो, जब माधवकुमार नेपाल प्रधानमन्त्री थिए। त्यतिबेला मन्त्रिपरिषदबाट निर्णय गर्दै हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्न स्वीकृति दिइएको थियो। पछि सो जग्गा हदबन्दीभन्दा बढी बिक्री गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

यस मुद्दामा पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत सरकारी अधिकारीहरू समेत प्रतिवादीमा परेका छन्। अख्तियारले मुद्दा दायर गरेसँगै वर्तमान सांसद रहेका माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस