राजविराज, २३ जेठ। सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ।
बिहीबार भएको घटनामा हराएका सशस्त्र प्रहरी बलका जवान हरदेव राजवंशीको शव भेटिएको हो।राजवंशीको शव हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियाँ क्षेत्रमा बालुवामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनापछि अर्का बेपत्ता जवान सुरज साउदको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजी कार्यलाई तीव्रता दिन सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिन्टारबाट अनुभवी गोताखोर टोली परिचालन गरिएकाे छ ।
सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार खोजी कार्यमा तीव्रता दिइएको छ र बेपत्ता जवान साउदको अवस्था सार्वजनिक गर्ने प्रयास जारी छ।