जनकपुरधाम, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ अर्ब ७० करोड लागतमा निर्माण गरिने ‘एक निर्वाचन क्षेत्र, एक सडक–दोस्रो चरण’ योजनाअन्तर्गतको ३२० किलोमिटर कालोपत्रे सडकको शिलान्यास गरेका छन्
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रबाट डिजिटल माध्यममार्फत आइतवार मधेश प्रदेशको ६४ निर्वाचन क्षेत्रमा एकसाथ पक्की सडकको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशको शिक्षा क्षेत्र देशकै तुलनामा सबैभन्दा कमजोर रहेकोप्रति चिन्ता व्यक्त गर्दै मधेशमा सुविधा हुँदाहुँदै पनि परिणाम खस्कनुमा आन्तरिक कमजोरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत सबै क्षेत्रमा सुशासनको खाँचो रहेकोले जनप्रतिनिधिहरू र जनताले आफैंबाट सुधार सुरु गर्न सुझाव दिए । देशले विकासमा ठूलो फड्को मारेको चर्चा गर्दै १० हजारभन्दा बढी घर निर्माण, सडक चौडाइ, नेपाल रेल सेवा सञ्चालनजस्ता कामहरू सम्पन्न भइसकेको बताए । जनकपुरमा सुरु भएको रेल सेवा विस्तार गरी बर्दिबाससम्म पुर्याउने लक्ष्य रहेको तथा रेल सेवा घाटामा जान नदिन आफै दक्ष जनशक्ति उत्पादन गर्न कदम चालिने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
कोशी नदीको पानीको उपयोग, चुरे संरक्षण, बनजंगल जोगाएर मधेशमा समृद्धि ल्याउन सकिने बताउँदै सुनकोशी–मरिण डाइभर्सन आयोजना कार्यान्वयनमा ठेकेदारको लापरवाहीले ढिलाइ भएकोमा दुःख व्यक्त गरे । उक्त आयोजनामा दोषी ठेकेदारसँग ठेक्का भंग गरी काम द्रूत गतिमा अगाडि बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएका सडकहरू तीन वर्षभित्र निर्माण सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरिएको छ । पहिलो चरणमा ३२० किलोमिटरमध्ये हालसम्म २०० किलोमिटर सडक निर्माण भइसकेको छ । सडकहरूमा उपयुक्त प्रविधि र गाउँ बाहिर स्फाल्ट प्रविधिबाट कालोपत्रे गरिनेछ। सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
Pic. credit: Abdhesh Kamat/Janakpurdham