सप्तरीका स्थानीय तहमा एकै वर्ष थपियो झण्डै ४४ करोड बेरुजु

राजविराज–सप्तरीका स्थानीय तहमा एकै वर्ष झण्डै ४४ करोड बेरुजु थपिएको छ । स्थानीय तहमा विधि र प्रक्रिया मिचेर राज्य कोषको रकम खर्च गर्ने प्रवृति मौलाउँदा आर्थिक वर्ष ०८०/०८१ मा मात्रै ४३ करोड ९१ लाख १९ हजार रुपैयाँ बेरुजु थपिएको महालेखा परीक्षकको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।

सो वर्ष सबैभन्दा बढी बलान बिहुल गाउँपालिकामा बेरुजु थपिएको छ । त्यहाँ कूल ९४ करोड ४८ लाख १० हजार रुपैयाँ लेखापरीक्षण हुँदा ५ करोड २३ लाख ९७ हजार रुपैयाँ बेरुजु थपिएको हो । दोस्रो नम्बरमा रहेको राजविराज नगरपालिकामा कूल दुई अर्ब ३४ करोड ९३ लाख ६० हजार रुपैयाँ लेखापरीक्षण हुँदा ४ करोड ७६ लाख ७ हजार रुपैयाँ बेरुजु थपिएको हो ।

कूल ३ करोड ८१ लाख ७९ हजार रुपैयाँ बेरुजु थपिएको कञ्चनरुप नगरपालिका तेस्रो नम्बरमा रहेको छ । कञ्चनरुपमा कूल १ अर्ब ९० करोड ८१ लाख ६४ हजार लेखापरीक्षण भएको थियो । बेरुजु थपिने स्थानीय तहमा रुपनी गाउँपालिका चौथो नम्बर रहेको छ । त्यहाँ कूल ९६ करोड ६ लाख १६ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ३ करोड ६२ लाख ९ हजार रुपैयाँ बेरुजु भएको छ ।

शम्भुनाथ नगरपालिका कूल एक अर्ब २० करोड ९३ लाख ५५ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ३ करोड २९ लाख ३२ हजार रुपैयाँ बेरुजु थपिएको छ भने हनुमाननगर कंकालिनी नगरपालिकामा कूल ९४ करोड ४५ लाख ९४ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ३ करोड २२ लाख ४० हजार रुपैयाँ बेरुजु भएको हो ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कूल एक अर्ब २ करोड २९ लाख ५६ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ३ करोड १३ लाख ९६ हजार रुपैयाँ बेरुजु थपिएको छ । खडक नगरपालिकामा कूल एक अर्ब ७१ करोड २४ लाख ५१ हजार रुपैयाँ लेखापरीक्षण हुँदा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ बेरुजु थपिएको हो ।

तिरहुत गाउँपालिकामा कूल ६६ करोड ६४ लाख ११ हजार रुपैयाँ लेखापरीक्षण हुँदा २ करोड ७७ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको छ । महादेवा गाउँपालिकामा कूल ९९ करोड ९४ लाख लेखापरीक्षण हुँदा २ करोड ४ लाख ८९ हजार रुपैयाँ बेरुजु थपिएको हो ।

बोदेबरसाईन नगरपालिकामा कूल एक अर्ब ५० करोड ८६ लाख ७९ हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ६८ लाख ४ हजार रुपैयाँ बेरुजु थपिएको छ भने तिलाठी कोइलाडी गाउँपालिकामा एक अर्ब ९ करोड ३६ लाख ८५ हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ६३ लाख १ हजार रुपैयाँ बेरुज भएको हो ।

विष्णपुर गाउँपालिकामा कूल ८१ करोड १३ लाख ७१ हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ३४ लाख ५४ हजार रुपैयाँ बेरुजु थपिएको छ । डाक्नेश्वरी नगरपालिकामा कूल एक अर्ब ४१ करोड १९ लाख ८० हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड १३ लाख ७३ हजार रुपैयाँ बेरुजु थपिएको हो ।

छिन्नमस्ता गाउँपालिकामा कूल एक अर्ब ७ करोड ९८ लाख ९४ हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ६ लाख ६३ हजार रुपैयाँ बेरुजु भएको हो । सुरुङ्गा नगरपालिकामा कूल एक अर्ब ७३ करोड २ लाख १६ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ८० लाख ८ हजार रुपैयाँ बेरुजु थपिएको छ ।

राजगढ गाउँपालिकामा कूल ९७ करोड ७५ लाख ७९ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ७० लाख ९६ हजार रुपैयाँ बेरुजु थपिँदा सप्तकोशी नगरपालिकामा सबैभन्दा कम ६५ लाख ३७ हजार रुपैयाँ बेरुजु थपिएको छ । त्यहाँ कूल ७६ करोड ४१ लाख ४२ हजार लेखापरीक्षण भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस