रामप्रसाद खनाल
बिचरा चम्चा,
मिठा मिठा परिकारहरू
चाख्न,
खान,
मन नपरे,
किनारा लगाउन
फाल्न !
चम्चा धेरै प्रयोग हुन्छ
घरका भान्छामा
रेस्टुरेन्टमा
पिकनिकमा
अझ भनौँ
खाने ठाउँ
जहाँ पनि
जहिले पनि
तर,
उसलाई के थाहा ?
कुन खाने कुराको स्वाद,
कस्तो हुन्छ भनेर !
ऊ त सधैँ अर्काका लागि,
खानाका लागि प्रयोग हुन्छ
खानेले प्रयोग गर्छ
प्रयोग पनि कति कति,
अनि जुठेल्नुमा फ्याँकिन्छ ऊ
फेरी प्रयोग गर्न,
माझिन्छ ऊ
कयौँ पटक !
केबल प्रयोग गर्नका लागि मात्रै,
बिचरा चम्चा,
उसलाई के थाहा स्वादको ?
के स्वाद परिकारको ?
प्रयोग गर्नकै लागि
धोइन्छ ऊ
पखालिन्छ ऊ
सधैँ सधैँ
नभाँचिँदासम्म
काममा आउँदासम्म
तर काममा आउन छोडेकै दिन
ऊ फालिन्छ फोहोर फाल्ने डुङ्गुरतिर
सधैँ सधैँका लागि,
बिचरा चम्चा !
ऊ बनेकै अर्कालाई ख्वाउन
अर्कालाई चखाउन
अर्कालाई अघाउन
तर उसलाई के थाहा ?
स्वादको,
परिकारको
बिचरा चम्चा !
उसलाई देखेर मलाई दया लाग्छ
नलागोस् पनि कसरी !
सबै कुरा खान प्रयोग हुने
सबैले प्रयोग गर्ने ऊ
आफू भने कहिल्यै न खान जानेको छ
न स्वाद थाहा पाउन !
तै पनि चम्चालाई लाग्दो हो
म बिना के चल्छ र ?
म बिना कसलाई चल्छ र ?
भ्रम पालेर बाँच्छ ऊ
भान्छाहरूमा सधैँ नाच्छ ऊ
काम आउन्जेल
अर्कालाई खाना खुवाउन्जेल
बिचरा चम्चा !!