नेपाल आयुर्वेदको विश्व केन्द्र बन्न सक्छ

डा. सुष्मा साउद

हामी प्रायः विकासका लागि बाहिर समाधान खोजिरहेका हुन्छौँ, तर सम्भवतः हाम्रो समृद्धिको एउटा ठूलो आधार हाम्रै माटोमा छ जडीबुटी र आयुर्वेद।

आज पश्चिमी देशहरू आयुर्वेदप्रति आकर्षित भइरहेका छन्। भारतमा आयुर्वेदिक उपचारका लागि विदेशबाट आउने बिरामीहरूको संख्या बढिरहेको छ। विश्वविद्यालयहरू र अनुसन्धान संस्थाहरूले पनि आयुर्वेदका विभिन्न पक्षमा अध्ययन गरिरहेका छन्। यसले संसार प्राकृतिक र समग्र (Holistic) स्वास्थ्य पद्धतितर्फ फर्किरहेको संकेत गर्छ।

नेपाल संसारका जडीबुटी स्रोतले धनी देशहरूमध्ये एक हो। तर विडम्बना, हामी अझै कच्चा जडीबुटी निर्यात गरेर प्रशोधित तथा तयारी उत्पादन आयात गरिरहेका छौँ। एक आयुर्वेद चिकित्सकका रूपमा मैले आफ्नै पहलमा स्थानीय जडीबुटी प्रयोग गरेर कपालको तेल, मालिस तेल तथा अन्य उत्पादनहरू विकास गर्ने प्रयास गरिरहेकी छु। प्रयोगकर्ताहरूबाट प्राप्त प्रतिक्रियाले एउटा कुरा स्पष्ट पारेको छ—हाम्रा जडीबुटीमा गुणस्तरको कमी छैन, कमी छ त अनुसन्धान, लगानी र प्रवर्द्धनको।

कल्पना गरौँ, यदि राज्यले व्यवस्थित रूपमा जडीबुटी खेतीलाई प्रोत्साहन गर्ने, अनुसन्धानमा लगानी गर्ने, आयुर्वेदिक उद्योगलाई सहजीकरण गर्ने तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने नीति लिने हो भने-

हजारौँ युवाले रोजगारी पाउन सक्छन्,
गाउँमै आम्दानीका स्रोत सिर्जना हुन सक्छन्,
स्वास्थ्य पर्यटन (Health Tourism) फस्टाउन सक्छ,
र नेपालले विश्व बजारमा आफ्नै पहिचान स्थापित गर्न सक्छ।

हामीसँग जडीबुटी छ। हामीसँग आयुर्वेद चिकित्सक छन्। हामीसँग अनुसन्धान गर्ने क्षमता छ। हामीसँग परम्परागत ज्ञानको विशाल भण्डार छ।

नेपाललाई धनी बनाउने सम्भावना जमिनमुनिको खानीमा मात्र छैन, हिमाल र पहाडमा उम्रिने जडीबुटीमा पनि छ। आयुर्वेदलाई राज्यले उपचारको माध्यम मात्र नभई नेपालको आर्थिक समृद्धि, राष्ट्रिय पहिचान र विश्वसँग जोडिने एउटा शक्तिशाली अवसरका रूपमा बुझ्नुपर्छ। त्यसअनुसार नीति निर्माण र कार्यान्वयन गर्न सकियो भने नेपाल आयुर्वेदको विश्व केन्द्र बन्ने सपना केवल कल्पना मात्र रहनेछैन, यथार्थमा परिणत हुन सक्छ। facebook

Author:



क्याटोगरी छान्‍नुहोस