जनकपुरकी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज

जनकपुरधाम । थाइल्यान्डको बैंककमा आयोजित ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जनकपुरधामकी सान्वी मण्डलले जित्न सफल भएकी छिन् ।

सेप्टेम्बर २७ मा बैंककमा सम्पन्न प्रतियोगितामा उनी मिस वेलनेस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् । विभिन्न देशका प्रतिनिधिहरू सहभागी प्रतियोगितामा सौन्दर्यसँगै स्वस्थ जीवनशैली, आत्मविश्वास, व्यक्तित्व विकास तथा शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यलाई प्राथमिकता दिइएको थियो ।

यस अघि उनी जनकपुरधामको प्रतिनिधित्व गर्दै ‘मिस नेपाल २०२५’ मा प्रतियोगी नम्बर १ का रूपमा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा उनी टप १२ सम्म पुग्न सफल भएकी थिइन् । २२ वर्षिया सान्वी काठमाण्डौमा एमबीएमा अध्ययनरत छिन् । कमर्श क्याम्पसबाट बीबीए, ट्रिनिटी कलेजबाट ११ र १२ तथा जनकपुरधाम स्थित सिद्धार्थ सेकेण्ड्रीबाट एसईई उतीर्ण गरेकी थिइन् ।

नृत्य, फिटनेस र गायनमा समेत रुचि राख्ने उनले भविष्यमा उद्यमी तथा सामाजिक अभियन्ताका रूपमा अगाडि बढ्ने लक्ष्य राखेकी छिन् । मिस नेपाल यात्राका क्रममा उनले अभावमा रहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यसहित सामाजिक अभियानसमेत अघि सारेकी छिन् । उनका लागि सौन्दर्य प्रतियोगिता केवल व्यक्तिगत उपलब्धि हासिल गर्ने माध्यम नभई सामाजिक प्रभाव सिर्जना गर्ने अवसरका रूपमा रहेको थियो ।

‘मिस वेलनेस वर्ल्ड’ परम्परागत सौन्दर्य प्रतियोगिताभन्दा फरक अवधारणामा केन्द्रित प्रतियोगिताका रूपमा प्रस्तुत हुँदै आएको छ। यसमा शरीर, मन र आत्माबीचको सन्तुलन, स्वस्थ जीवनशैली, मानसिक सन्तुलन, आत्मचेतना, सकारात्मक सोच र सामाजिक जिम्मेवारीजस्ता विषयलाई महत्व दिइन्छ ।

प्रतियोगितामा सहभागीहरूले थाइल्यान्डमा सांस्कृतिक गतिविधि, वेलनेस सेसन तथा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाएका थिए। विभिन्न देशका प्रतिनिधिहरूले आफ्नो संस्कृति, जीवनशैली र वेलनेससम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए ।

नेपालकी सान्वीसँगै क्यानडाकी प्रतिनिधिले ‘मिस वेलनेस वर्ल्ड इन्टरनेसनल २०२६’, स्विट्जरल्यान्डकी प्रतिनिधिले ‘मिस वेलनेस वर्ल्ड क्रिएटिभ २०२६’, मोरक्कोकी प्रतिनिधिले ‘मिस वेलनेस वर्ल्ड ह्युमनिटेरियन २०२६’ र इटालीकी प्रतिनिधिले ‘मिस वेलनेस वर्ल्ड डिस्टिङ्क्सन २०२६’ उपाधि प्राप्त गरेकी छिन् ।

बैंककको अन्तर्राष्ट्रिय मञ्चमा पुगेकी सान्वीको यो उपलब्धिले नेपाली पेजेन्ट क्षेत्रमा उनको यात्रालाई नयाँ चरणमा प्रवेश गराएको छ । अब ‘मिस वेलनेस वर्ल्ड २०२६’ का रूपमा उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।

सान्वीले उपाधी प्राप्त गरेसँगै घरपरिवार तथा छरछिमेकमा खुशीको माहोल छाएको छ । उनका बुवा सञ्जय मण्डल निर्माणव्यवसायी हुन् । उनका अनुसार सान्वीले ताज पाएको घोषणासँगै आफुकहाँ देशविदेशबाट फोन गरेर तथा प्रत्यक्ष भेटेर बधाइ एवम् शुभकामना दिने गरेको बताएका छन् ।

आफ्नी छोरी सान्वीले पाएको सफलताले सिङ्गो देश गौरवान्वित भएको बताउँदै बुवा सञ्जयले भने ‘सान्वी जस्तो छोरी पाएकोमा म खुशीले गदगद छु, यहाँसम्मको यात्रामा सहयोग गर्ने सबैप्रति आभारी छु ।’ उनका अनुसार दुई सन्तानमध्ये सान्वी जेठी हुन् । कान्छो छोरा नमन काठमाण्डौँमा यसैवर्ष इन्जिनियरिङ्गमा अध्ययनका लागि भर्ना भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस