मोदी–लामिछाने भेटः नेपालसँग सहकार्य बढाउन भारतको प्रतिबद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, साझा विकास र भविष्यको सहकार्यका विषयमा छलफल भएको छ। भेटपछि मोदीले नेपालसँगको सहकार्यलाई थप मजबुत बनाउन भारत तयार रहेको बताएका छन्।

भेटपश्चात् सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले लामिछानेसँगको संवाद सकारात्मक र अर्थपूर्ण रहेको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।

मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाललाई विशेष प्राथमिकता प्राप्त साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै साझा हित, विकास र समृद्धिका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लामिछानेले अघि सारेको नजिकबाट मिलेर काम गर्ने प्रस्तावको स्वागत गर्दै त्यसलाई पूर्ण समर्थन रहेको जनाएका छन्।

भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको टोली जेठ १८ गते भारत पुगेको थियो। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्। भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा छलफलहरू भइरहेको जनाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस