असोज ९ देखि ११ गतेसम्म वर्षा तीव्र हुने सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं। बागमती प्रदेशमा असोज ९ गतेदेखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ।

मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी तथा पूर्वतयारी गर्न अनुरोध गरेको हो। नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने मन्त्रालयले जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्न आग्रह गरिएको छ।

नदी किनार, पहिरोको जोखिम भएका भू–भाग तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिइएको छ।

अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ। विपद्सम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस