वि.सं. २०६५ साल भाद्र १९ गतेका दिन कोशी नदीको बाढीबाट प्रभावित सुनसरी र सप्तरी जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै सरकारद्वारा ५० करोड रूपैयाँ राहतको घोषणा भएको थियो ।
कोशी ब्यारेज निर्माण पछिकै सबैभन्दा विनाशकारी बाढी वि.सं. २०६५ भदौ २ गते सुनसरीको तत्कालीन पश्चिम कुशहा-४ मा पूर्वी तटबन्ध फुट्दा आएको थियो, जसका कारण ४२ हजार ८ सय सर्वसाधारण विस्थापित हुनुका साथै ७ हजार ५ सय ७२ घर प्रभावित भएका थिए । यस जलविपत्तिले सुनसरीको कोसी गाउँपालिकाका विभिन्न वडाको ५,५०० हेक्टर खेतीयोग्य जमिनलाई बालुवामा परिणत गरिदिएको थियो भने नदीले १२ किलोमिटर कालोपत्रे र १३ किलोमिटर कच्ची सडक तथा दर्जनौँ विद्युतका पोलहरू बगाउँदा लामो समयसम्म यातायात र विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो |
वि.सं. २०६५ चैत १७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कोशी बाढी प्रभावितहरूको पुनर्स्थापनाका लागि १ अर्ब ६६ करोड रुपियाँ निकासा गर्ने ऐतिहासिक निर्णय गरेको थियो। उक्त राहत प्याकेजअन्तर्गत ३६ सय बिगाहा जग्गाको क्षतिपूर्ति दिने, घर निर्माणका लागि प्रतिपरिवार ३० क्युबिक सखुवाको काठ उपलब्ध गराउने र ५ सय ७८ परिवारलाई घर मर्मत खर्चबापत प्रतिघर २० हजार रुपियाँ वितरण गर्ने व्यवस्था गरिएको थियो। यसका साथै, भूमिहीन १ हजार ४ सय २२ जना सुकुम्बासी परिवारलाई प्रतिपरिवार दुई कठ्ठाका दरले जग्गा उपलब्ध गराउने महत्वपूर्ण निर्णय समेत सोही बैठकले गरेको थियो।
सप्तकोशी नदीको ऐतिहासिक बाढीको शृङ्खलालाई हेर्दा कोशी ब्यारेज निर्माण भएयता यस क्षेत्रमा यस अघि वि.सं. २०२२, २०२४, २०३८, २०४२ र २०४५ सालमा भीषण नदी कटान र डुबानका घटनाहरू भएका थिए। शब्द तथा तस्विर साभारः तस्विरमा नेपाल