विष्णुपुर गापा वडा नं. १ मा नयाँ भवनबाट सेवा सञ्चालन

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–१, जमुनी मधेपुरास्थित नवनिर्मित वडा कार्यालय भवनबाट बुधबारदेखि नियमित सेवा सञ्चालनमा आएको छ।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव र वडा अध्यक्ष बलराम यादवले एक समारोहबीच संयुक्त रूपमा भवनको उद्घाटन तथा गृहप्रवेश गरेपछि नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको हो।

विष्णुपुर गाउँपालिकाको सहयोगमा निर्माण गरिएको उक्त नवनिर्मित भवनमा तीनवटा कोठा, एक सभाहल तथा तीनवटा शौचालय रहेको वडा अध्यक्ष बलराम यादवले जानकारी दिए। करिब एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट सेवाग्राहीले बुधबारदेखि नै सेवा लिन थालेका छन्।

यसअघि वडा कार्यालय तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिको पुरानो तथा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको थियो। पुरानो भवनका कारण कार्यालय सञ्चालन तथा सेवाग्राहीलाई सेवा प्रवाहमा कठिनाइ हुँदै आएपछि नयाँ भवन निर्माण गरिएको हो।

गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले गाउँपालिकामा हालसम्म पाँचवटा वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको बताए।

उनका अनुसार वडा नं. २, ३ र ५ का वडा कार्यालय भवनसमेत चाँडै उद्घाटन गरिनेछ। ती भवनको निर्माण कार्य तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

पालिकावासीलाई समुचित वातावरणमा सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय भवन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको अध्यक्ष यादवले बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति थियो।

Author:



क्याटोगरी छान्‍नुहोस