काठमाडौं, जेठ २१ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै जातीय विभेद र छुवाछूत अन्त्य गरी समतामूलक समाज निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
उपराष्ट्रपति यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै वि.सं. २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको उल्लेख गरेका छन्। सामाजिक न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि यो दिवस महत्वपूर्ण रहेको उनको भनाइ छ।
सन्देशमा प्रत्येक नागरिकले समान अवसर प्राप्त गर्नु र सम्मानपूर्वक बाँच्न पाउनु सभ्य समाजको आधार भएको उल्लेख गरिएको छ। विगतमा जातीय भेदभावका कारण धेरै समुदाय शिक्षा, रोजगारी, आर्थिक अवसर तथा सामाजिक सहभागिताबाट वञ्चित हुनुपरेको स्मरण गराउँदै उनले नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको बताएका छन्।
उपराष्ट्रपति यादवले कानूनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै सामाजिक चेतना, शिक्षा, सांस्कृतिक रुपान्तरण तथा नागरिक सक्रियतालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै विभेदमुक्त, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ।
उनले समानता, सम्मान र समावेशिताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्दै आर्थिक समानता, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्नेमा जोड दिएका छन्।