तोकियो धानको समर्थन मूल्य, कममा खरिद नगर्न सप्तरी प्रशासनको चेतावनी

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद बिक्री नगर्न सबै सरोकारवाला पक्षलाई आग्रह गर्दै चेतावनी जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्वारा जारी सूचनामा नेपाल सरकारले कृषकहरूलाई बालीको उचित मूल्य सुनिश्चित गर्न तथा बजारमा खाद्यान्न (धान) को मूल्य स्थिरता कायम राख्ने उद्देश्यले आर्थिक वर्ष २०८३/०८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको उल्लेख गरिएको छ। सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको छ।

सूचनाअनुसार पछिल्ला दिनहरूमा केही खरिदकर्ताहरूले सरकारले तोकेको समर्थन मूल्यभन्दा कम मूल्यमा धान खरिद गरी कृषकहरूलाई मर्का पारिरहेको भन्ने जनगुनासो प्राप्त भएपछि प्रशासनको गम्भीर ध्यानाकर्षण भएको हो। जिल्ला प्रशासन कार्यालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ मा उल्लेखित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न तथा गराउन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।

उक्त निर्देशिकाको परिच्छेद–४, दफा १३ अनुसार स्थानीय तहहरूले न्यूनतम समर्थन मूल्यबारे सूचना प्रवाह गर्ने, तोकिएको मूल्यमा खरिद कार्यान्वयनका लागि सहजीकरण गर्ने, खरिद कार्यको अनुगमन गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय गर्नुपर्ने व्यवस्था रहेको प्रशासनले जनाएको छ। प्रशासनले कृषकहरूलाई तोकिएको न्यूनतम मूल्यभन्दा कम मूल्य दिएर धान खरिद गर्ने वा निर्देशिकाविपरीत कार्य गर्ने व्यक्ति तथा संस्थामाथि प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

जिल्ला प्रशासन कार्यालयले धान खरिद बिक्रीमा पारदर्शिता कायम गर्न तथा कृषकहरूको हित संरक्षणका लागि सरकारद्वारा निर्धारित मूल्यको पूर्ण कार्यान्वयनमा सहयोग गर्न सबै स्थानीय तह, व्यापारी तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस