कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा सञ्चार क्षेत्रबारे चिन्ता व्यक्त

राजविराज । मोफसलका सञ्चारमाध्यम सरकारी विभेद, घट्दो विज्ञापन र खस्किदो बजारका कारण सङ्कटमा परेको भन्दै सप्तरीका पत्रकारहरूले गुनासो गरेका छन् ।

प्रेस सेन्टर नेपाल सप्तरीद्वारा सहिद तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को २४औँ स्मृति दिवसको अवसरमा बुधबार राजविराजमा आयोजित ‘वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सञ्चारमाध्यम संरक्षणका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालको पूर्व सदस्य अनिल कुमार अनलले सञ्चार संस्थाको मुख्य आम्दानीको स्रोत विज्ञापन भए पनि सरकारी विज्ञापन सीमित सञ्चारमाध्यममा केन्द्रित हुँदा साना तथा मोफसलका मिडिया आर्थिक सङ्कटमा परेको बताए । आर्थिक अभावकै कारण धेरै पत्रकार पेशा परिवर्तन गर्न बाध्य भइरहेको उल्लेख गर्दै उनले यसले समग्र पत्रकारिता क्षेत्र कमजोर बन्दै गएको धारणा राखे ।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले लोकतन्त्रको महत्वपूर्ण आधार सञ्चार क्षेत्र भए पनि सरकारहरू पत्रकारप्रति असहिष्णु बन्दै गएको बताए । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादवले पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यम गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै राज्यको विभेदपूर्ण नीतिका कारण मोफसलका मिडिया झन् प्रभावित भएको बताए ।

प्राधिकरणका सदस्य समेत रहेका महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ताले पत्रकारमाथि पक्राउ पुर्जी जारी हुने तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने घटनाले पत्रकारिता असुरक्षित बन्दै गएको बताए । उनले सञ्चारमाध्यमलाई समान अवसर दिने नीति आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद सूर्यनाथ यादव, नेता छेदी रजक, वरिष्ठ पत्रकार सुरेन्द्र गुप्ता, पत्रकार सतीश कुमार दत्त, प्रताप नारायण चौधरीलगायतले सञ्चार क्षेत्रको संरक्षण र पत्रकारहरूको पेशागत सुरक्षाका लागि राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिए । प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन पत्रकार दिनानाथ यादवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस