काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी, पूर्वाधार विकास तथा भविष्यको सहकार्यका विषयमा छलफल भएको थियो ।उपराष्ट्रपति यादवले राजदूत माओमिङलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले चीन सरकारले नेपालमा सम्पन्न हालैको संसदीय निर्वाचनमा गरेको सहयोगप्रति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध कुनै गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेका छन् । उनले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान, मित्रता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित रहेको उल्लेख गरेका छन् । उनले व्यापार, पर्यटन, ऊर्जा, पूर्वाधार र प्रविधि हस्तान्तरणका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताएका छन् । साथै ‘बेल्ट एण्ड रोड पहल’ अन्तर्गतका परियोजनालाई तीव्रता दिन नेपाल तयार रहेको धारणा राखेका छन् ।
भेटमा राजदूत माओमिङले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति खुशी व्यक्त गर्दै यसले राजनीतिक स्थायित्वमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले चीन नेपालमा विद्युत, सडक, पर्यटन लगायतका क्षेत्रमा थप सहयोग गर्न तयार रहेको बताएका छन् । राजदूत माओमिङले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिने उल्लेख गर्दै काठमाडौंस्थित सिभिल अस्पताल र चितवनस्थित क्यान्सर अस्पतालप्रतिको सहयोग निरन्तर रहने बताएका छन् । उनले मधेश प्रदेशमा शिक्षा र स्वास्थ्यसम्बन्धी परियोजना सञ्चालन गर्न चीन इच्छुक रहेको समेत जानकारी दिएका छन् ।