रायणहिटीमा आफूमाथि गोली चलेपछि राजा वीरेन्द्रले प्रतिकारमा चलाउन खोजेको पिस्तोल

सीताराम बराल

नारायणहिटीको त्रिभुवन सदनमा १९ जेठ २०५८ मा भएको घटनामा पहिलो पटक गोली लागेपछि राजा वीरेन्द्र ढले। दाजु ढलेको देखेपछि राजा वीरेन्द्रकी कान्छी वहिनी शोभा शाही गएर उनलाई भरथेग गर्ने कोशिष गरिन्।

अधिराजकुमारी श्रुतिका श्रीमान् कुमार गोरखले पनि उनलाई भरथेग गर्ने कोशिष गरे। पहिलो पटक प्रहार भएको गोलीले घाइते बनाएपनि राजा वीरेन्द्र होसमै थिए। गोली प्रहार भएपछि उनी प्रतिरोधको योजनामा लागे।

त्यसदिनको जमघटमा उनी कुर्ता–पाइजामा ज्वारीकोट लगाएर लगाएर त्रिभुवन सदन पुगेका थिए।
यस्तो पोशाक लगाएपनि उनी जमघटमा पिस्तोल बोकेर गएका रहेछन्। ९ एमएमको गोली जाने अस्टृयामा निर्मित सो ग्लक पिस्तोलको म्याग्जिनमा १५ वटा गोली भरिएको थियो।

सायद उनले त्यो पिस्तोल आफ्नो ज्वारीकोट वा कुर्ताको खल्तीमा राखेका थिए। बहिनी र ज्वाइँको भरथेग पाएपछि गोली लागेका राजा वीरेन्द्र उठ्न खोजे। उठ्ने क्रममा उनले आफ्नो खल्तीमा रहेको पिस्तोलपनि निकाले। उपलब्ध तस्वीर हेर्दा पिस्तोल होल्डरमा राखिएको थियो।

पहिलो पटक वीरेन्द्रमाथि गोली चल्दा के भयो भन्ने कुराको कसैले भेउ नै पाउन सकेनन्। आकस्मिक घटना भएकाले बहिनी शोभाले पनि के भएको हो, अनुमान नै गर्न सकिनन्।

राजा वीरेन्द्र भने सम्भवतः फेरि गोली चल्छ भन्ने कुरामा पक्का भइसकेका थिए। गोली चल्योपनि ।
त्यसैले, उनले आफ्नो खल्तीमा रहेको पिस्तोल निकाले, उठ्न खोजे। तर, के भएको हो, केही भेउ नपाएकी अधिराजकुमारी शोभाले दाजुको हातको पिस्तोल खोस्ने प्रयास गरिन्।

अधिराजकुमारी शोभाले दरबार हत्याकाण्डका विषयमा तत्कालिन प्रधानन्यायाधीस केशवप्रसाद उपाध्याय नेतृत्वको छानविन समितिमा दिएको वयानमा उल्लेख भए अनुसार, पिस्तोल समात्न खोज्दा उनको हात गोली भएको म्याग्जिनमा पर्यो। यसरी उनले पिस्तोल तान्न खोज्दा हात म्याग्जिनमा परेकाले त्यो पिस्तोलबाट छुट्टियो।

त्यसै बेला फेरि वीरेन्द्रमाथि दोस्रो पटक गोली चल्यो। दोस्रो पटक चलेको गोलीले राजा वीरेन्द्रको ज्यानमात्र लिएन, सँगै रहेका अधिराजकुमारी शोभा र कुमार गोरख शमशेरपनि घाइते भए। तत्कालिन प्रधानन्यायाधीस उपाध्याय नेतृत्वको छानविन समिति २७ जेठ २०५८ मा दरबार हत्याकाण्डस्थल त्रिभुवन सदन पुग्दा राजा वीरेन्द्रको पिस्तोल एकातिर थियो, गोलीसहितको म्याग्जिन अर्काेतिर।
पिस्तोलको साथमा महिलाले लगाउने गुलावी रंगको चप्पल थियो। त्यो चप्पलको जोडी एक एक हात पर विपरित दिशातर्फ थियो। पिस्तोल मुन्तिर रगतका टाटा थिए।

सम्भवतः टाटा बसेको रगत राजा वीरेन्द्रको थियो भने चप्पल अधिराजकुमार शोभा शाहीको!
साभारः लेखक सीताराम बरालको फेसबुक वालबाट ।

Author:



क्याटोगरी छान्‍नुहोस