मधेशी एकता समाज यूएईको शुभकामना कार्यक्रम

काठमाडौं । दशैं, तिहार र छठ पर्वको पूर्व संध्यामा मधेशी एकता समाज, युएईले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।

दुबईको जबिल पार्कमा समाजका युएई च्याप्टरका पदाधिकारीहरुले आउन लागेका चाडपर्वहरुको शुभ अवसरमा कार्यक्रम आयोजना गरेर शुभकामना साटासाट गरेका हुन् । त्यस अवसरमा युएई च्याप्टरका पदाधिकारीहरुले मातृभूमि नेपालको रसुवा र नुवाकोट जिल्लामा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख र सम्वेदना पनि प्रकट गरेका छन् ।

उनीहरुले समाजको अन्तर्राष्ट्रिय समितिको पहल र संयोजनमा तराईमधेशका विभिन्न जिल्लामा बाढी पीडितका लागि जारी राहत वितरण कार्यबारे पनि चर्चा र समीक्षा गरेका छन् । त्यसैगरी एकता समाजका पदाधिकारीहरुले उक्त संस्थालाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको युएई च्याप्टरका महासचिव आदित्य कुमार अटलले जानकारी दिए ।

कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले एकता समाजको उद्देश्य, हालसम्म संस्थाले समाजका विभिन्न व्यक्तिहरूलाई पुर्याउँदै आएको सहयोग तथा आगामी दिनमा संस्थालाई अझ मजबुत र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विस्तृत रूपमा प्रकाश पारे । उनले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य मन्त्रको रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा समाजका युएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, वर्तमान अध्यक्ष शैलेन्द्र यादव, संस्थापक सदस्यहरू लालबाबु, तनवीर आलमलगायतका पदाधिकारी तथा सदस्यहरूले पनि आफ्नो धारणा राखे । उक्त अवसरमा संस्थाको आगामी कार्यलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले सर्वसम्मतबाट आदित्य कुमार अटललाई समाजको युएई शाखाको महासचिवको जिम्मेवारी प्रदान गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस