देश–विदेशमा मिथिला चित्रकला चिनाउँदै अजित साह

जनकपुरधाम । रङ्ग र कुचीको माध्यमले नेपालको मिथिला चित्रकलालाई विश्वका विभिन्न देशहरुमा पुर्याउने चित्रकार हुन् अजित साह । वि.सं. २०२४ साउन २२ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा सुन्दरप्रसाद र माता फूलकुमारी देवीको कोखबाट उनको जन्म भएको हो ।

विद्यालयमा अध्ययनरत रहँदादेखि नै उनलाई चित्रकला औधी मन पर्दथ्यो । विद्यालयमा कलाकारले भित्ताहरुमा चित्र कोरेको देख्दा कुची र रङ्गप्रति उनको आकर्षण बढ्दै गयो । उनले अन्य विषय भन्दा पनि चित्रकलामै रमाउन थाले । यद्यपी अजितले चित्र कोरेको मन पदैनथ्यो । पढेर अजित सिए पढेर ठूलो मान्छे बनोस् र नाम कमाओस् भन्ने इच्छा उनका बुवाको थियो ।

चित्र बनाएकै निहुँमा उनले कैयौं पटक बुवाको हातबाट कुटाई खाए । चित्र कोरेर जीवन धान्न सकिदैन, चित्र कोर्ने काम महिलाहरुको हो भन्दै छोरा अजितको भविष्यप्रति अत्यन्तै चिन्तित थिए । तर अजितले रङ्ग र कुचीलाई जीवनको अभिन्न अङ्ग नै बनाउने प्रण गरे ।

महोत्तरीको जलेश्वर स्थित माध्यमिक विद्यालयबाट एस.एल.सी. तथा धनुषाको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट बि.कम.सम्मको अध्ययन गरे । अध्ययनसँगै अजित मिथिला चित्रकला कोर्नमा समेत अभ्यस्त हुँदै गए । विजयादशमी, दीपावली सहितका पर्वहरुमा महिलाहरुले बनाउने चित्रप्रति आकर्षण बढ्दैगएपछि बाआमा समेत उनीप्रति निराश र असन्तुष्ट हुँदै गए । बाआमाले सिए पढाउने र छोराका चित्र कोर्ने मोहले गर्दा अजितकालागि परिवारिक माहोल असहज बन्दै गयो ।

आजभन्दा करिब पच्चीस वर्ष अघि काठमाण्डौमा एक संस्थाले थाम्का र पौवा चित्रकला सम्वन्धी तालिम आयोजना गरेको थियो । उक्त तालिमका एक प्रशिक्षकले यो तालिम तिम्रोलागि उपयुक्त नरहेको भन्दै रोकेको उनी अनुभव सुनाउँछन् । उनी पुनः जनकपुर फर्केर आफ्नो भविष्य खोज्न थाले । सोही क्रममा उनको विवाह भयो । पति अजितको चित्रकला मोह देखेर धर्मपत्नी रिनाले सघाउन थालिन् । उनले आफै संस्था दर्ता गराएर चित्रकला सम्वन्धी प्रशिक्षण कार्य अगाडि बढाए ।

काठमाण्डौमा टुर्स एन्ड ट्राभल्स व्यवसाय सञ्चालन गर्दैआएका स्थानीय विनयकुमार साहले अजितको चित्रकलाको विषयमा देशी विदेशी पर्यटकहरुसँग चर्चा गर्न थाले । सोही क्रममा एक विदेशी नागरिकले उनले बनाएको मिथिला चित्रकला पाँच सय रुपैयाँमा किनिदिएपछि उनी झन उत्साहित भए । त्यसको करिब १ महिनापछि अमेरिकाबाट मिथिला चित्रकला बारे बुझ्न र मिथिला कलाको अर्डर दिनहरू थपिए । त्यहीबाट उनको व्यवसाय फस्टायो । अमेरिका, जापान, श्रीलङ्का, भारत, स्पेन, बङ्गलादेश लगायत दर्जन बढी देशमा पनि उनले कोरेको चित्रहरू निर्यात भईरहेका छन् । आफैले सञ्चालन गरेको जनकपुर आर्ट एन्ड क्राफ्ट नामक संस्थामा ३४ जना महिलाहरु कार्यरत छन् । यद्यपी निरन्तरको लकडाउनका कारण तयार गरिएका चित्रहरु विक्री नहुँदा आफुहरुलाई समस्या थपिएको उनको दुःखेसो छ ।

चित्रकार अजितले राष्ट्रिय प्रतिभा पुरष्कार, मिथिला रत्न सहित दर्जनौ पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । चित्रकलातर्फ लागेकै कारण शुरुमा घरपरिवारबाटै आलोचित एवम् अवहेलित भएका उनले जब राष्ट्रपतिबाट राष्ट्रिय प्रतिभा पुरस्कार पाए तब उनलाई टोल छिमेक मात्र नभई विभिन्न जिल्लाहरुबाट समेत बधाईको ओइरो आउनथाल्यो । उनका बुवालाई तपाईको छोरा अजितले राष्ट्रपतिबाट पुरस्कार पाएको भन्दै बधाई दिनथालेपछि तथा पत्रिकाहरुमा तस्विरसहित प्रकाशन भएका समाचारहरु हेरेपछि बाआमाले समेत उनीमाथि गर्व गर्न थाले ।

शुरुका दिन अत्यन्तै पीडादायी रहेको बताउँदै उनी भन्छन् ‘शुरुका चरणमा कैयौं पटक अपमानित समेत महशुष गरें, तर मैले हिम्मत हारिन, मेरो सफलतामा जीवनसङ्गीनी रिनाको ठूलो योगदान छ, चित्रकार अजित भनेर चिनाउन पाउँदा अत्यन्तै गर्व अनुभूति गर्छु ।’ मिथिला चित्रकलाको माग विश्वभरि नै रहेकोले यसको व्यवसायीकरण आवश्यक रहेको उनको भनाई छ । गाउँघरका महिलाहरुमा अद्भूत कला रहेपनि उक्त कला अझैं बाहिर आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छन् ‘मिथिला चित्रकलालाई गाउँघर र चाडपर्व एवम् विशेष समारोहमा मात्र सिमित नराखी बजारीकरण आवश्यक छ, यसको बजारीकरण एवम् व्यवसायीकरण आवश्यक छ, चित्रकला जिविकोपार्जननको माध्यम बन्नुपर्दछ ।’

मिथिला चित्रकलालाई जिवन्त राख्न सीपलाई एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दैजानुपर्ने उनको सुझाव छ । कलालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने कार्यमा लागेका उनले हालसम्म दर्जनौं कलाकारलाई प्रशिक्षण दिएर जिविकोपार्जन गर्ने माध्यम बनाउन सघाएका छन् । हाल उनी अमेरिका तथा नेपालको राजधानी काठमाण्डौ र जन्मथलो जनकपुरमा मिथिला चित्रकलाको प्रवद्र्धनमा सक्रिय छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस