महोत्तरीमा गोली प्रहार गरी लुटपाट, पाँच जना घाइते

जनकपुरधाम, ३ असार । महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारमा गए राति गोली प्रहार गरी लुटपाट भएको छ । लुटेराहरूको एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् ।

सोही क्रममा लुटेराहरूको समूहले चलाएको गोली लागेर ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् । साहको कम्मरमा गोली लागेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए । यसैगरी साहकी श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह पनि घाइते छन् ।

साहको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको छ भने उनका परिवारका सदस्यहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको भईरहेको जनाइएको छ । पसल सञ्चालन भइरहेको घरको पर्खाल नाघी लुटेराहरू भित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कटुवा पेस्तोल, फलामको रड प्रयोग गरी संचालक वीरेन्द्र साहसहित घरमा रहेकाहरुमाथि आक्रमण गर्दै घरभित्र रहेको नगद र गरगहना लुटेर फरार भएको जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार पसलमा लुटेराहरूले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको रहेको थियो भने सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको थियो । यसैगरी नगद २ लाख रुपैयाँ समेत लुटेर लगेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस