व्यवसायीको दुखेसो–बैंकको दोब्बर ब्याज तिर्नुपर्दाको पीडा कसैले बुझ्दैनन्

राजविराज – राजविराजका व्यवासयीहरुले बैंकको ब्याजदर दोब्बर तिर्नुपर्दा व्यवसायीको निन्द्रा समेत हराइसकेको दुखेसो गरेका छन् ।

शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो दुखेसो गरेका हुन् । कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले बैंक तथा वित्तीय संस्थाको रबैयाले व्यवसायीहरु निरुत्साहित हुन पुगेको बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरुको रबैयाले अहिले व्यवसायीहरुलाई निन्द्र हराइसकेको छ’ उनले भने, ‘७ प्रतिशत तिर्नुपर्ने ब्याजदर अहिले १४ प्रतिशत भइसकेको छ, एकातिर आर्थिक संकट अर्कोतिर बैंकको रबैयाले हामी कसरी बाँच्ने?’

उनले व्यवसायीहरुलाई बाँच्ने वातावरण बनाइदिन सरोकारबालासँग आग्रह गरे । ‘खुल्ला सिमानाले दुई महिनायता जिल्लामा तस्करीको बाढी बगिरहदा समेत सरोकारवाला निकाय मौन छन्, जसका कारणले यहाँका व्यापार–व्यवसाय चौपट भएको छ भने पारी हरियाली नै हरियाली छ’ उनले भने, ‘अहिले सबैतिरबाट व्यवसायी मारमा पर्दा समेत कत्तैबाट कुनै पहल भइरहेको छैन् ।’

उनले अब पनि सिमानामा तस्करी नियन्त्रण नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यसमिति सदस्य अरुणकुमार प्रधानले पनि अहिले व्यवसायीहरुको अवस्था पानी विनाको माछा जस्तो भइसकेको बताए । ‘यसतर्फ कत्तैबाट पनि उपलब्धीमूलक प्रयास भएको छैन्, अहिले आर्थिक मन्दीले बाँच्ने अवस्था नै रहेन’ उनले भने, ‘यहाँका प्रहरी–प्रशासनदेखि स्थानीय सरकारसम्म पनि व्यवसायीको कुरा सुन्न रुचाउँदैनन्, जसको उदाहरण यही छ, हामीले उहाँहरुलाई नियन्त्रणा गर्दा पनि आइदिनुभएन ।’

उनले यी समस्याहरु प्रति सरकारी तवरबाट पहल हुनुपर्ने माग गरे । ‘सरकारले व्यवसायमैत्री नीति ल्याइयोस् र व्यवसायीहरुलाई बाँच्ने वातावरण बनाइयोस्’ उनले भने, ‘त्यसका लागि आफुले सकेसम्म जिल्लादेखि केन्द्रसम्म पहल गर्नेछु ।’

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालको अध्यक्षता तथा राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाबाट केन्द्रीय कार्यसमिति सदस्य पद (मधेश प्रदेशतर्फ)मा निर्वाचित भएका प्रधानलाई दोसल्ला र प्रमाण–पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मनोजकुमार मुधडा, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देव, कानून व्यवसायी रामकुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस