बलान बिहुलमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग

राजविराज – सप्तरीको बलान विहुल गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको प्राथमिक अस्पताल भवनमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको जनप्रतिनिधिले नै दावी गरेका छन् ।

गाउँपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिका संयोजक समेत रहेकी उपाध्यक्ष रेणु यादवले भवन निर्माण कार्य रोक्का गर्न निर्माण कम्पनीलाई पत्राचार नै गरेपछि सो विषय बाहिरिएको हो ।

उपाध्यक्ष यादवले गत चैत्र २० गते अस्पताल भवन निर्माण गरिरहेको रौताहा/श्रेष्ठ एण्ड सन्स/रेग्मी जेभी त्रियुगा नगरपालिका, उदयपुरलाई पत्राचार गरी काम रोक्का गर्न भनेकी हुन् । उनले सो निर्माण कार्यबारे आफुलाई कुनै जानकारी नदिई मनोमानी तथा गैरकानूनी तरिकाले निर्माण कार्य गराइरहेको सो पत्रमा उल्लेख गरेकी छन् ।

‘भवन निर्माणमा प्रयोग भइरहेको ईट्टा, ढुंगा, बालुवा, गिट्टी र छड गुणस्तरहीन भएको’ पत्रमा भनिएको छ । उनले अनुगमन समितिसँग छलफल नभएसम्म निर्माण कार्य तत्काल रोक्न तथा छलफलमा आउँदा टेण्डर लिएको र निर्माण कार्य प्रक्रियाको सम्पूर्ण कागजात समितिसमक्ष पेश गर्न पनि भनेकी छन् । ‘तर, निर्माण कम्पनीले अहिलेसम्म पनि सो पत्रको कुनै वास्ता गरेको छैन् भने निर्माण कार्यमा पनि मनोमानी कायमै राखेको छ’ उनले मधेशलाइभसँग भनिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले ती विषयमा ४/५ पटक छलफल भए तापनि समाधान भने अझैं हुन नसकेको प्रतिक्रिया दिए । ‘उपाध्यक्ष ज्यूले कुरा उठाइसकेपछि हामीले स्थलगत अनुगमन पनि गरेका थियौं, प्राविधिकले सबै कुरा ठिकै भनिरहे पनि निर्माण सामग्री गुणस्तरीय नै हो भन्ने यकिन गर्न सकिएको छैन्’ उनले भने, ‘हाम्रो छलफल हुँदा निर्माण सामग्रीको थर्ड पार्टी भेरिफिकेशन हुनुपर्ने कुरा आयो तर निर्माण कम्पनीले निर्माण सामग्रीको ल्याब टेष्ट गराउनेतर्फ चासो दिएकै छैन् ।’

आरोप लागेपछि निर्माण सामग्री गुणस्तरीय नै छ भन्ने प्रमाण देखाउने वा चित्त बुझाउने दायित्व.निर्माण कम्पनीको रहेपनि उनीहरु उदासिन बनेको उनको भनाइ छ । ‘मैले पनि उहाँहरुलाई दुई पटक बोलाए तर आउनुभएन’ प्रमुख प्रशासकीय अधिकृत कुसियैतले भने, ‘निर्माण कम्पनीले जवाफ दिने कुरामा चासो लिएको छैन् ।’

उता, निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र खत्रीले भवन निर्माण कार्य गुणस्तरीय नै भइरहेको बताए । ‘हामीले कामदारका लागि शौचालय बनाउन ५/७ सय जति दुई नम्वर ईट्टा ल्याएका थियौं । शायद उपाध्यक्ष ज्यूले त्यहीँ हेरेर त्यो भन्नुभएको हो कि?’ उनले भने, ‘तर भवन निर्माण कार्य गुणस्तरीय भइरहेको छ ।’

गाउँपालिका कार्यालयकाअनुसार २०८२ असार २५ गतेसम्म निर्माण भइसक्ने गरी सो अस्पताल भवन निर्माणका लागि कुल १४ करोड ५ लाख ७४ हजार २१२ रुपैयाँ (भ्याट बाहेक)मा रौताहा/श्रेष्ठ एण्ड सन्स/रेग्मी जेभी त्रियुगा नगरपालिका, उदयपुरले ठेक्का पाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस